यस वर्षको एसईई पनि विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

कोरोना संक्रमणको कारण राष्ट्रव्यापी रूपमा एसईई परीक्षा सञ्चालन गर्न नसकिने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद बैठकले यस बर्षको एसईई पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । ‘यस बर्षको एसईई पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै मन्त्री तुम्बाहाङ्फेले भनिन् ।
मन्त्रिपरिषद्को बैठकले नयाँ शैक्षिक सत्र असार महिनाबाट सुरु गर्ने निर्णय पनि गरेको छ । असार महिनाअघि नै एसईईको आन्तरिक मूल्यांकन सक्ने तयारी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
गत वर्ष तयार पारेको कार्यविधिको आधारमा यसपालि पनि विद्यार्थीको मूल्यांकन गर्न लागिएको हो । तर बोर्डले कार्यविधिमा संशोधन हुन सक्ने जनाएको छ । विज्ञहरूले गत वर्षको कमीकमजोरी कार्यविधिमा संशोधन गर्नुपर्ने औंल्याएका थिए ।
गत वर्षको एसईई सञ्चालन कार्यविधिअनुसार विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकनको विवरण सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाइले राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने व्यवस्था छ । त्यसरी प्राप्त विवरणका आधारमा बोर्डले परीक्षाफल तयारी गरि प्रकाशन तथा प्रमाणीकरणका साथै प्रमाणपत्र जारी गर्ने कार्यविधिमा उल्लेख छ ।
यसअघि १३ जेठबाट हुने भनिएको एसईई राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित गरेको थियो । यस बर्ष पाँच लाख १७ हजार विद्यार्थी एसईईको तयारीमा रहेको परीक्षा बोर्डले जनाएको छ ।
यस्तै, २६ जेठबाट हुने भनिएको १२ कक्षाको परीक्षा पनि बोर्डले स्थगित गरेको थियो ।
