बाँकेका ९१ प्रतिशत जेष्ठ नागरिकले लिए कोरोना विरुद्धको भेरोसेल खोप


बाँकेका ९१ प्रतिशत जेष्ठ नागरिकले कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लिएका छन् । ६२–६४ बर्ष उमेर समुहका आठ हजार एक सय ९० मध्ये २७ जेठसम्म सात हजार चार सय २४ जनाले कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिएमसी) का फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिए ।
उनले जिल्लाका एक सय सात खोप केन्द्र मार्फत जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको बताए । पहिलो दिन लिन छुटेका जेष्ठ नागरिकलाई दोस्रो दिन खोप दिइएको उनले स्पष्ट पारे ।
खोप अभियानमा खजुरा गाउँपालिकाले शतप्रतिशत प्रगति भएको जनाएको छ । उक्त गाउँपालिकाका ८७० जनालाई खोप दिने लक्ष लिइएकोमा सवैजनालाई खोप दिइएको गाउँपालिकाले जनाएको छ । बाँकेमा २६ जेठदेखि खोप अभियान सुरु गरिएको हो ।
त्यसैगरि, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले ९९ प्रतिशत प्रगति भएको जनाएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका दुई हजार दुई सय ८३ जनालाई खोप दिने लक्ष रहेको थियो । ति मध्ये दुई हजार दुई सय ५३ जनाले खोप लिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
कोहलपुर नगरका एक हजार तीन सय ६० मध्ये एक हजार तीन सय ४२ जनाले खोप सुविधा लिएको नगरपालिकाले जनाएको छ । बैजनाथ गाउँपालिकाका नौ सय ३४ जनाले खोप लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐरीले जानकारी दिए ।
बाँकेको स्थानीय तह मध्ये नरैनापुर गाउँपालिकामा सवैभन्दा कम खोप लगाइएको छ । त्यहाँका २२ प्रतिशतले मात्र खोप लगाएको डिसिएमसीले जनाएको छ ।
त्यसैगरि, जानकी र डुडुवा गाउँपालिकाका ९६ प्रतिशतले खोप लिएका छन् । भने, राप्तीसोनारी गाउँपालिकाका ७६ प्रतिशत जेष्ठ नागरिकले मात्र भेरोसेल खोप लिएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।
बाँकेमा सात हजार ५०४ डोज भ्याक्सिन खर्च भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन मानव नेपालीले जानकारी दिए । उनले बाँकेमा आठ हजार डोज खोप आएको बताए ।
उनका अनुसार, बाँकेका ६६ जनाले दोस्रो मात्रा लिएका छन् । पहिलो पटक भेरोसेल खोप लिएका ६६ जना जेष्ठ नागरिकले दोस्रो मात्रा लिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *