इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु १२ वर्षपछि सत्ताको शक्ति गुमाउँदै


प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको १२ वर्षे शासनलाई अन्त्य गर्नेगरी आइतवार इजरेलको संसद्ले नयाँ सरकार गठनलाई स्वीकृति दिने अपेक्षा गरिएको छ।

नेतान्याहु

दलहरूको एउटा अनपेक्षित गठबन्धनले बनाउने अपेक्षा गरिएको सम्भावित सरकार एक सीटको झिनो अन्तरले मात्र बहुमतमा छ।

त्यसले दुई वर्षभन्दा बढी समयमा तीनवटा निर्वाचनले फुकाउन नसकेको राजनीतिक गाँठोलाई समेत अन्त्य गर्नेछ।

मध्यमार्गी नेताहरूसँगको एउटा सत्ता साझेदारीको सम्झौताअनुसार दक्षिणपन्थी राष्ट्रवादी नेता नाफ्ताली बेनेट प्रधानमन्त्री हुन अग्रसर देखिएका छन्।

सम्झौता

गठबन्धनसम्बन्धी सम्झौताअनुसार यामिना दलका नेताले सन् २०२३ को सेप्टेम्बरसम्म पद सम्हाल्नेछन्।

त्यसपछिको थप दुई वर्षका लागि उनले येश अटिड पार्टीका याएर लापिडलाई सत्ता हस्तान्तरण गर्नेछन् |

इजरेलमा सबैभन्दा लामो समय शासन गर्ने नेता नेतान्याहुले थुप्रै वर्ष त्यहाँको राजनीतिक परिदृश्यलाई आफ्नो अधिनमा राख्न सफल भए।

उनी अझै दक्षिणपन्थी लिकुड पार्टीको नेता र प्रतिपक्षी दलको नेताका रूपमा रहिरहनेछन्।

उनले सम्भावित नयाँ सरकारप्रति कडा शब्द प्रहार गर्दै त्यसलाई ‘धोकेबाज र आत्मसमर्पणवादीहरूको खतरनाक गठबन्धन’ को सङ्ज्ञा दिएका छन्।

उनले त्यसलाई ‘छिट्टै सत्ताच्युत गरिने’ वाचा पनि गरेका छन्।

नयाँ सरकार कस्तो

बेनेटको सरकार इजरेलको ७३ वर्षे इतिहासमा नयाँ स्वरूपमा हुनेछ।

इजरेल निर्वाचन - फाइल फोटो
तस्बिरको क्याप्शन,उक्त गठबन्धनले नयाँ चुनाव गर्नु पर्ने अवस्था आउन नदिन त्यसो गरेको जनाएको छ

उक्त गठबन्धनमा राजनीतिक विचारधारामा ठूलो मतभिन्नता रहेका दलहरू छन्।

अनि त्यसमा सबैभन्दा उल्लेख्य रूपमा पहिलो स्वतन्त्र अरब दल राम पनि सहभागी हुनेछ।

त्यसमा अहिलेसम्मकै धेरै आठजना महिला मन्त्रीहरू समेत अपेक्षा गरिएको छ।

राम र दक्षिणपन्थी गैरअरब इजरेली पार्टीहरू सरकारमा सहभागी हुँदा प्यालेस्टिनीहरूप्रतिको इजरेली नीतिमा मतभेद देखिन सक्छ।

उदाहरणका लागि यामिन र अर्को दक्षिणपन्थी दल न्यू होप इजरेल अधीनस्थ वेस्ट ब्याङ्कजस्ता ठाउँमा यहुदी बस्ती राख्ने कामको कट्टर समर्थक हुन्।

सामाजिक नीतिमा पनि मतभिन्नता देखा पर्न सक्छ।

नेतान्याहु

केही दलहरू परिष्कृत समलिङ्गी अधिकारको पक्षमा छन्।

तर समलिङ्गी विवाहलाई मान्यता दिने कामलाई इस्लामिक पार्टी रामले विरोध गर्दै आएको छ।

त्यसबाहेक केही दलहरू धार्मिक प्रतिबन्धहरू खुकुलो पार्न चाहन्छन् तर धार्मिक दल यामिन त्यसो नहोस् भन्न चाहन्छ। बिबिसि नेपालीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *