युवा दलितको आक्रोश र गैरदलितकोे छटपटी


युवा दलितको आक्रोश र गैरदलितकोे छटपटी
मिरा मिश्रा

दलित र गैरदलितको विषयमा कुरा गर्दा दलितमा खासगरी युवादलितमा जातप्रथाप्रति तीव्र असन्तोष देखिन्छ । उच्च जातका व्यक्तिहरूमा जात बचाउन सकिएन भन्ने ठूलो चिन्ता छ । दलितलाई जातप्रथा अझै हटेन वा हटाउन सकिएन भन्ने ठूलो चिन्ताले सताएको छ । यो चिन्ता युवा दलितमा बढी देखिन्छ । यसरी नै बाहुनक्षत्रीमा, कसरी जातप्रथा बचाइराख्न सकिन्छ भन्ने ध्याउन्न देखिन्छ । खासगरी दलितसँगको सम्बन्धलाई लिएर उच्च जातमा मात्र होइन, यो चिन्ता जनजातिहरूमा पनि देखिन्छ ।

लोकतन्त्र र लैंगिक समतामूलक समाजमा विश्वास गर्ने जोकोहीका लागि पनि दलितमाथिको उत्पीडन अमान्य हुन्छ वा हुनुपर्छ । किनकि लोकतन्त्रमा विश्वास गर्नेले जन्मका आधारमा कुनै एक वर्गलाई वा जातविशेषलाई अशुद्ध भनी उनीहरूमाथि भेदभावपूर्ण र अमानवीय व्यवहार गर्न मिल्दैन वा पाइँदैन । लोकतन्त्र पनि छ भन्ने र जातीय व्यवस्था पनि कायमै रहनु वा राख्नलाई सहजीकरण गर्नु आफैँँमा विरोधाभास छ । तर, हाम्रो समाजमा यही भैराखेको छ । लोकतन्त्रले अझै पनि दलितलाई सम्पूर्ण रूपमा अझै पनि समान हैसियतको व्यक्तिको रूपमा आत्मसात् गर्न सकेको छैन । यो दलितको कमजोरी होइन, लोकतन्त्रको कमजोरी हो ।

दलितको जीवन बदल्ने विषयलाई लिएर समाज बाँडिएको देखिन्छ । एकथरी दलितको जीवनमा केही पनि परिवर्तन भएको छैन भन्छन् । यो भनाइ बोक्नेको जमात सानो छैन । खासगरी धेरै दलितहरू यही विचार बोक्छन् । त्यसैले उनीहरू अब दलितका लागि आन्दोलन दलितले नै गर्नुपर्छ भन्ने मान्यता पनि राख्छन् । यो भनाइको पछाडि उनीहरूको जीवन भोगाइ प्रमुख कारण रहिआएको छ । दलितसँग टाँसिएको अशुद्धपन समाजमा अझै पनि ब्याप्त छ । दलित भन्नेबित्तिकै उनीहरू अछुत हुन् भन्ने भावना कुनै न कुनै रूपमा गैरदलितहरूमा रहिआएको छ । बाहिरी संसारमा यो भावना अलि फिक्का भए पनि घरभित्र यसले अझै बलियो जरा गाडेको छ । दलितलाई अशुद्ध मानी सकेसम्म आफ्नो निजी जीवनबाट उनीहरूलाई टाढा राख्ने प्रयासहरू आज पनि नौलो होइन ।

उनीहरूका प्रयासहरूअन्तर्गत सकेसम्म दलितलाई घरभित्र छिर्न नदिने, घरभित्रत छिर्न दिने तर आँंगनमै वा बैठककोठा जसलाई घरभित्रको सार्वजनिक स्थान भनेर पनि चिनिन्छ, त्यहीँ सीमित राख्ने आदि पर्दछन् । साथै, आफ्ना छोरा वा छोरीलाई दलित साथी बनाउन सकेसम्म निरुत्साहित गर्ने, नसके गाढा सम्बन्ध राख्न रोक्न खोज्ने, डेरामा सकेसम्म दलितलाई नराख्ने, र भान्छा वा पूजाकोठामा उनीहरूको प्रवेश निषेध गर्नेजस्ता क्रियाकलापहरू पर्दछन् । यसरी नै धार्मिक क्रियाकलाप जस्तो श्राद्ध र पूजामा दलितसँग छुवाछुत होला भन्नेमा पनि उनीहरू सतर्क देखिन्छन । योे प्रवृत्ति आम हो, कुनै एक जात वा वर्ग विशेषको होइन । गाउँ, शहर, उच्न जात र जनजाति र धनी, गरिब, सबैमा यो प्रवृत्ति देखिन्छ । यति मात्रै नभई पढेलेखेका शहरी परिवार जो आफूलाई प्रगतिशील भनेर थाक्दैनन्, त्यस्ता परिवारमा पनि यो भावना र व्यवहार व्याप्त छ ।

उदाहरणका लागि लैंगिक अध्ययनका एक उच्च जातकी एक महिला विद्यार्थी, जो आफ्नो बाबुको दोहोरो चरित्र देखेर दिक्क भएकी थिइन्, जातको बारेमा कुरा गर्दा आफ्नो अनुभव यसरी व्यक्त गर्छिन्, ‘मेरो बुबा सरकारी अफिसमा उच्च तहमा काम गर्नुहुन्छ । उहाँको सामाजिक छवि राम्रो छ । उदार विचारको भनेर चिनिनुहुन्छ । मलाई पनि त्यस्तै लाग्थ्यो । तर, घरभाडामा राख्दा दलित पर्ला कि भनी उहाँँले देखाएको चासोले म झस्किएकी छु । आमालाई उहाँले डेरामा मान्छे राख्दाखेरी अरु कुरा भन्दा पनि दलित पर्ला भन्ने ख्याल गर्नू है भनी अह्राएको र दलित पर्‍यो भने अरु कोठाहरू भाडा लगाउन गाह्रो हुन्छ भनी सम्झाएको देखेर म छक्क परेँ । त्यसमा पनि आमाको पनि एउटै विचार देखेर मलाई रिस पनि उठ्यो, साथै दिक्क पनि लाग्यो । आफ्नै आमाबाबुसँग के रिस गर्नुजस्तो पनि लाग्छ । मलाई धेरै कुरामा उहाँहरूले छुट दिनुभएको कुरा पनि सम्झन्छु र मन बुझाउने प्रयास गर्छु । उहाँहरूलाई थाहा छैन, मेरो एक मिल्ने साथी दलित हुन् । उनले मलाई पढाइमा पनि मद्दत गर्छिन् । मलाई जातपातको मतलब छैन । तर बुबाको आजको व्यवहारले त उनलाई घरमा ल्याउन पनि मैले सोच्नुपर्ने जस्तो पो देखिन्छ । कस्तो समाज हाम्रो ? कस्तो छुवाछुतको भावना र कहिले सम्म भन्ने प्रश्नले पनि मन पिरोलिइरहन्छ ।’

केही जमात यस्ता पनि छन्, जो जातीय व्यवस्था र दलितप्रतिको व्यवहार समाजको अनिवार्य नियम ठान्दछन् । दलितको जीवनमा आएको ‘सीमित’ परिवर्तन उनीहरूलाई सहज भैराखेको छैन । त्यसैले त्यस्ता व्यक्तिहरू दलितमा आएको परिवर्तनलाई समाजमा बढाइचढाइ प्रस्तुत गर्नमा व्यस्त देखिन्छन् । उनीहरू आफ्नो आक्रोश यसरी पोख्छन्, ‘अब के चाहियो, जति भए पनि नपुग्ने यी तल्ला जातकालाई, घिउ नपचेको, आदि । उनीहरूका लागि दलित समान हैसियत भएका नागरिक होइनन्, हुनु पनि हुँदैन । 

अर्का थरी जो सामाजिक न्यायको वकालत गर्छन्, उनीहरू दलितको जीवनमा धेरै सकारात्मक परिवर्तन भैसक्यो, समय लाग्छ, विस्तारै सबै कुरा भैहाल्छ नि भन्छन् । यो केही हदसम्म सही पनि हो । अहिले दलितहरूको सार्वजनिक वा समान नागरिक हुने प्रक्रिया तीव्र छ । स्कुलमा, कार्यालयमा, राजनीतिक वृत्तमा, र विभिन्न समूहहरू आदिमा उनीहरूको सहभागिता र प्रतिनिधित्व आदि इत्यादिले यो कुरा प्रस्ट पार्छ । यसले अर्को के कुरा देखाउँछ भने दलित र गैरदलितबीचको दूरी कम हुँदै छ । पुस्तापुस्ताबीचको जीवनको फरक अनुभवले पनि यो कुरा प्रस्ट्याउँछ । युवापुस्ताहरूमा यो परिवर्तन अझ प्रस्ट देखिन्छ । यस्ता परिवर्तनहरूले गैरदलितको, त्यसमा पनि उच्च जातको छटपटी बढाएको छ ।

मैले केही वर्षअगाडि एउटा गाउँमा गरेको जातको अध्ययन Ethnicity and ethnic inequality: Recent interpretations from rural Nepal, 2015 ले पनि यो छटपटी देखाउँछ । त्यहाँका टाठाबाठाहरूलाई सोधेकी थिएँ । तपाईंहरूको गाउँमा खास के के परिवर्तन भएका छन् ? उनीहरूको जवाफ थियो, ‘दलितहरू सबै बाहुन/क्षत्रीका घरमा पस्न थालिहाले, महिलाहरू घरबाहिर निस्किहाले, योभन्दा ठूलो परिवर्तन के खोज्नु ? त्यसपछि उच्च जातका महिलाहरू थप्छन् । यो गाउँमा त अब जात नै रहेन । बाहुनले नै आफ्नो जात छोडेपछि अरुलाई के भन्ने ? बाहुन भएर जोसँग पनि हेलमेल गर्ने, जसले छोएको पनि खाने र रक्सी शुद्ध खान थालेपछि कसलाई के भन्ने ? त्यसैले त तल्लो जातले कसैलाई टेर्नै छोडिसके ।’

त्यसपछि पनि उनीहरू रोकिँदैनन्, थप्दै जान्छन् । यो गाउँमा प्रेम विवाह बढेर गएको छ । छोरीनातिनीहरूलाई अधीनमा राख्नु सपनाजस्तै भैसक्यो । स्कुल कलेजसम्मत ठीकै थियो, हामीहरूले पढ्न नपाए पनि छोरीनातिनीहरूले पढ्न पाऊन् भन्ने हाम्रो पनि इच्छा हो । तर, उनीहरूले त कसैलाई टेर्नै छाडिसके । विवाह पनि आफ्नै राजीखुसी हुन थालिसक्यो । हातहातमा मोबाइल छँदै छ, के छ र ? कोसँग र के कुरा गरेको पत्तो नै नहुने । हामीलाई त एउटै मात्र चिन्ता लाग्छ– अब त, कुन जात रोज्ने हुन् भनेर । आफ्नै जातमा विवाह भए त के थियो र । भएन भने पनि पानी चल्ने जात, जस्तो राई, लिम्बू, नेवार जो भए पनि हुन्थ्यो । के गर्ने, अरु उपाय नै नभएपछि । सबैभन्दा डर त तल्लो जातसँग प्रेम र विवाह होला भन्ने पो छ । सम्झँदा पनि डर लाग्ने । आफ्नो मात्रै कुरा होइन, गाउँले पनि टिकीबसी गर्न दिँदैनन् ।’

उनीहरूको भनाइबाट दुइटा कुरा प्रस्ट हुन्छन् । पहिलो, नेपाली समाजमा जातको पकड अझै पनि मजबुत छ । अरु किसिमबाट जातप्रथा कमजोर हुँदै गए तापनि दलित र गैरदलित विवाह अझै पनि धेरै टाढाको कुरा छ । दोस्रो, नेपाली समाजमा परिवर्तन भैरहेको छ । जात, वर्ग र लैंगिक सम्बन्धहरू परिवर्तन भैरहेका छन् । समाजमा आएको परिवर्तनलाई, अझ प्रस्ट भन्नुपर्दा, महिला र दलितको जीवनमा देखिएको परिवर्तनलाई सहज स्वीकार गर्न गैरदलित, त्यसमा पनि उच्च जात र वर्गलाई निकै गाह्रो भएको छ । उनीहरूको यो छटपटी दलित र गैरदलित बीचको प्रेम र विवाह कसरी रोक्न सकिन्छ भन्नेमा बढी केन्द्रित देखिन्छ ।

जातप्रथालाई बचाइराख्न जातको शुद्धता अनिवार्य सर्त हो । जातको शुद्धताका लागि रगतको शुद्धता आवश्यक पर्दछ । रगतको शुद्धता भन्नाले जन्मिएको बच्चाको रगतमा पनि जातीय शुद्धता कायम नै रहोस् भन्ने हो । रगतको मिसावट र यसको फलस्वरूप जातको मिसावट जातीय व्यवस्थाका लागि ठूलो चुनौती हुन्छ । त्यसैले रगतको शुद्धता कायम राख्न आफ्नै जातमा विवाहको महत्त्व जातप्रथामा आधारित समाजमा अरु समाजमा भन्दा बढी हुन्छ । उमा चक्रवर्तीले २०१८ मा आफूले सम्पादन गरेको किताब ‘जेन्डरिङ कास्ट’ मा लेख्छिन्, ‘आफ्नै जातमा विवाहको कारणले, जसलाई ‘कास्ट इन्डोगामी’ पनि भनिन्छ, जातप्रथा अहिलेसम्म जीवितै छ ।’

पहिला जातको आधारको छुवाछुतको नियम सामाजिक हो कि प्राकृतिक भन्ने कुराको निर्क्योल गरौँ । आफूले राम्रोसँग मनन गरौँ । आफ्नो जातका नियममा हामी जति खुकुलो हुन्छौँ, त्यति नै दलित–गैरदलितबीचको दूरी मेटाउन सफल हुन्छौँ ।

हुन त प्रेम र विवाह नितान्त व्यक्तिगत कुरा भए पनि प्रत्येक समाजमा प्रेम र विवाहलाई बाँध्ने केही सामाजिक नियमहरू हुन्छन् । जातीय व्यवस्थामा यो नियम जातमा आधारित हुन्छन् । त्यसैले प्रेम र विवाह भन्नेबित्तिकै मूल प्रश्न नै कुन जातसँग भन्ने आउँछ । मागी विवाहमा जातको कुरा मिलेपछि मात्र विवाह गर्न लागेका महिला वा पुरुषको अरु गुणहरू हेर्ने चलन रहिआएको हुन्छ । मैले गरेको विवाहसम्बन्धी एक अन्तरपुस्ताको अध्ययन (Spouse Selection in Nepal: Changing Experiences and Interpretations by Generation, 2014) ले  पनि यो पुष्टि गर्दछ । 

उक्त अध्ययनमा पहिलो र दोस्रो पुस्ताले आफ्नो छोरी वा नातिनीको विवाहका लागि केटा खोज्दा पहिला जात मिलाएर मात्र अरु गुणहरू जस्तो घरपरिवारको आम्दानी, केटाको पढाइ, इत्यादि, बारेमा बुझ्ने र विवाहको कुरा अघि बढाउने गरेको देखिएको छ । आफ्नो जातको केटा भएन भने केटाको अरु गुण जति नै राम्रा भए पनि कुरा अगाडि नबढाउने । तर त्यही अध्ययनले युवापुस्ता विवाहको कुरामा, खासगरी जातको हिसाबले, अलि उदार भएको देखाउँछ । यसमा पनि शहरका केटीहरूमा गाउँका केटीभन्दा बढी उदार देखिन्छन् । 

यसरी हेर्दा विवाहमा जातको महत्त्व अहिले पनि घटेको छैन । किनकि, हालसम्म पनि कसैको पनि विवाहको कुरा सुन्नासाथ कोसँग भनिन्छ । त्यो कोसँग भन्नुको पछाडि कुन जातसँग भनी जान्न खोजेको पनि हो । जबसम्म समाजमा जात मिलेको छ कि छैन भन्ने चासो रहिरहन्छ, तबसम्म जात व्यवस्था कायमै रहन्छ, यसमा शंका छैन । 

किनकि अन्तरजातीय विवाहमा जातको शुद्धतामा प्रश्न उठ्छ । प्रश्न उठ्नु भनेको जातीय व्यवस्था कमजोर हुनु हो । गैरदलितबीचको विवाहले त जातको शुद्धतामा प्रश्न उठ्छ भने झन् गैरदलित र दलितबीचको विवाहले त जातप्रथा नै अन्त्य हुन्छ भन्ने डर हुन्छ । त्यसैले पनि जातप्रथामा आधारित समाजमा अन्तरजातीय विवाह हुन नदिन भरमग्दुर प्रयत्न गरिन्छ । त्यसमा पनि गैरदलित र दलितबीचको विवाह रोक्न त पूरा समाज नै लागिपर्छ । यसको एक ज्वलन्त उदाहरण त रुकुम हत्याकाण्ड पनि हो । 

गैरदलित र दलितबीचको विवाह रोक्न गरिने यस्तै प्रयासहरूमध्येको एक प्रमुख प्रयत्नको रूपमा उच्च जातका महिलाहरूको यौनिकतामाथि विशेष निगरानी र नियन्त्रण साथै दलित पुरुषहरूमाथिको कठोर नियन्त्रण हो । लैंगिक दृष्टिकोणले हेर्दा पितृसत्ता र जातीय व्यवस्थाको मलेमितोमा मात्र यो सम्भव हुन्छ । प्रसिद्ध इतिहासविद् र नारीवादी उमा चक्रवर्तीको २००४ को लेख Conceptualizing Brahminical patriarchy in early India: Gender, caste, class and state मा उच्च जातका महिलाहरूको यौनिकतामाथि विशेष निगरानी र नियन्त्रण राख्नुको कारण उनीहरूको सम्बन्ध, त्यसमा पनि यौनिक सम्बन्ध, दलितपुरुषसँग नहोस् भन्ने नै हो । यसलाई रोक्नका लागि महिला र दलित पुरुषमाथिको नियन्त्रण अनिवार्य सर्त हो । त्योबाहेक, वालविवाह, आफ्नै जातमा विवाह र मागीविवाह जातीय समाजकोे चरित्र हो । यो चरित्रको संरक्षणका लागि पहिला धर्म र राज्य (कानुनी रूपमा नै) सक्रिय हुन्थे । महिनावारी हुनुअगावै छोरीको विवाह गरिदिएमा आफ्नो लागि स्वर्गको ढोका खुल्छ भन्ने धार्मिक मान्यता र त्यसलाई कार्यान्वयन गराउन बाबु र दाजुहरूमा पर्ने सामाजिक दबाबका बारेमा पनि धेरैले कलम चलाएका छन् ।

यसरी हेर्दाखेरी, जातीय व्यवस्था र पितृसत्ता एकअर्काका पूरक पनि हुन । जात व्यवस्था र पितृृसत्ता महिलालाई नियन्त्रण गरेर मात्र टिकिरहन सक्छन् । खासगरी महिलाको यौनिकतामाथिको नियन्त्रण जातीय व्यवस्थामा आधारित पितृसत्ताको अनिवार्य सर्त हो । 

जातप्रथा र पितृसत्ताको गाँठो यति बलियो हुन्छ कि उच्च जातका महिला र दलित पुरुषहरूमाथि मात्रै होइन, उच्च जातका पुरुषहरूले नै पनि यदि जातको नियम मानेनन् भने सजायको भागीदार बन्न बाध्य पारिन्छ । त्यसैले प्रसिद्ध नारीवादी बेल हुक्सले आफ्नो किताब ‘नारीवाद सबैका लागि’ मा भनेझैँ पितृसत्ता महिलाका लागि मात्र होइन, पुरुषकै हकहितमा पनि छैन भन्ने कुरा बुभ्नु जरुरी हुन्छ । उदाहरणका लागि ्उच्च जातका पुरुषले दलित महिलासँग प्रेम र विवाह गरेमा उनीहरूलाई आफ्नो जातबाटै हटाएर तल्लो जातमा खसालिन्छ । साथै, उनीहरूलाई आफ्नो घरपरिवार र सम्पत्तिबाट समेत वञ्चित गरिन्छ ।

हाल कानुनी रूपमा यो सम्भव नभए पनि समाजमा यो नियम अझै पनि कायमै छ । हालैको तिलक विश्वकर्माको एक लेखमा पनि ‘विटुला’ भनी यस्ता पुरुषहरूका बारेका चर्चा गरिएको छ (कान्तिपुर, मंगलबार, १८ जेठ, २०७८) तर समाजमा आएका विविध परिवर्तनहरूका कारणले जसरी भए पनि गैरदलित र दलितबीचको विवाह रोक्ने प्रयास त्यति सहज नहुने कुराको अनुभूति गैरदलित, त्यसमा पनि उच्च जातलाई हुँदै गएको छ ।

समाजमा आएका विविध परिवर्तन र गैरदलित, त्यसमा पनि उच्च जातको छटपटी एकआपसमा जोडिएका हुन्छन् । सन् १९९० पछि नेपालमा शहरीकरण, बजारीकरण र बसाइसराइ आदि बढेर गएको देखिन्छ । कृषिबाहेक जीवनयापनका अरु आधारहरू पनि थपिएका छन । यसले खासगरी युवापुस्ता घरको पकड र कृषिमा आधारित जीवनयापनबाट केही हदसम्म मुक्त भएका छन् । र, उनीहरू गैरकृषिमा आधारित रोजगारीमा लाग्न र नयाँ जीवन बाँच्न सफल पनि भएका छन् । त्यसैले जात उनीहरूका लागि त्यति महत्त्वपूर्ण हुँदैन, जति पुरानै परिवेशमा जीवन बाँचिरहेका पुराना पुस्तालाई ।

त्यसरी नै आरक्षणका नीतिहरू पनि लागू हुँदै गएकाले दलित र महिला दुवैको जीवनमा केही परिवर्तन आएको छ । स्कुल, कलेज, राजनीतिक पार्टीहरू र समूहहरू आदिमा उनीहरूको उपस्थितिले पनि समाज परिवर्तनको सूचना दिन्छ । यी परिवर्तनका साथै विवाहका नियम कानुनमा पनि केही परिवर्तन भएका छन् । त्यसरी नै छुवाछुत अन्त्यका नियमहरू पनि बनेका छन । साथै, समाजका केही गैरदलित जमात सामाजिक न्यायका लागि लड्नुपर्छ, जातीय व्यवस्थाको अन्त्य हुनुपर्छ भनी वकालतमा उत्रिएका पनि देखिन्छन् ।  

यसरी समाजमा आएका विविध परिवर्तनको फलस्वरूप उच्च जातका मानिसहरूलाई पनि अब सजिलैसँग महिलालाई र दलितलाई आफ्नो अधीनमा राख्न नसकिने भयो भन्ने कुराको प्रत्याभूति हुन थालेको देखिन्छ । त्यसैले उनीहरूमा छटपटी हुनु स्वाभाविक नै हो । प्रेम चौधरीले इन्डियाका दलितमा आएको परिवर्तनबाट उच्च जातमा देखिएको छटपटीका बारेमा आफ्नो २००९ को लेख First they took our jobs, then they took our girls मा लेख्छिन्, ‘उच्च जातका व्यक्तिहरू दलितको शिक्षा, स्वास्थ्य र रोजगारीमा बढेको पँहुचबाट त्रसीत देखिन्छन् । त्यसैले दलितका बारेमा बढाइचढाइ कुरा गरिरहेका छन् ।’

नेपालमा पनि यो छटपटी त छँदै छ । अझ बढी छटपटी उनीहरूमा कसरी जातप्रथालाई अझ पनि बचाइराख्न सकिन्छ भन्नेमा छ । जातभित्रको अरु कुराभन्दा पनि आफ्ना छोराछोरीलाई दलितसँगको प्रेम र विवाह गर्नबाट कसरी रोक्न सकिन्छ भन्नेमा गैरदलित, त्यसमा पनि बाहुनक्षत्रीहरू बढी चिन्तित र सजग देखिन्छन् । यो सजगता पुरुषहरूमा मात्र होइन, महिलाहरूमा पनि व्याप्त छ । महिलाहरू नै जात बचाउन लागिपरिरहेका छन् । उनीहरू पितृसत्ताको वाहक बनिरहेका छन । उमा चक्रवर्तीको भनाइअनुसार महिलाको स्वीकृति र सहयोगबिना पितृसत्ता टिक्न सक्दैन । त्यसरी नै जातीय व्यवस्था पनि उनीहरूबिना टिक्दैन ।

तर, किन महिलाहरू आफैँलाई दोस्रो दर्जाको व्यक्ति बनाउने व्यवस्थामा कर्ताको रूपमा भूमिका खेलिरहेका छन् त ? त्यो भूमिका खेलेन भने उनीहरूले कस्तो प्रकारको मूल्य चुकाउनुपर्छ जस्ता कुराहरु बुझ्न पनि त्यत्तिकै जरुरी छ । प्रसिद्ध इतिहासविद् र नारीवादी गर्डा लर्नर आफ्नो सन् १९८७ को किताब Creation of Patriarchy मा लेख्छिन्, ‘पितृसत्तात्मक समाजमा महिलाहरू आर्थिक र सामाजिक रूपमा पुरुषमा निर्भर हुन्छन् । यो परनिर्भरताले उनीहरूमा अधीनस्थ भावनाको विकास हुन्छ ।’ अधीनस्थ मानसिकता बोकेका महिलाहरूले यो घर मेरो हो । यहाँ मैले खान, लाउन र माया पाएकी छु । मैले नै यो घरको जात र जातमा आधारित रीतिथिति थाम्नुपर्छ भन्ने भावना बलियोसँग बोकेका हुन्छन् । जात र जातमा आधारित पितृसत्तालाई बचाउन महिलाहरू कसरी लागिपर्छन् भनेर प्रसिद्ध मानवशात्री लिला दुवे र इतिहासविद् र नारीवादी उमा चक्रवर्तीले आफ्ना लेखहरूमा व्यक्त गरेका छन् । 

महिलाको संलग्नता भन्नेबित्तिकै महिलासँग जोडिएका क्षेत्रहरू भन्ने आउँछ । किनकि आमबुझाइ घरभित्रलाई महिलाको क्षेत्र र घरबाहिरलाई पुरुषको क्षेत्र भन्ने नै हो । यो बुझाइ केही हदसम्म वास्तविकतामा आधारित पनि छ । किनकि आज पनि संसारभर नै पुरुषभन्दा महिला नै घरभित्र बढी समय बिताउँछन् । त्यसैले कसरी उनीहरूले घरभित्रका ती क्षेत्रहरूबाट जातलाई जीवित र चलायमान वा गतिशील बनाइराखेका छन् र जातको पाठ पछिल्लो पुस्तालाई सिकाइराखेका छन् त भन्ने कुरा पनि बुझनु जरुरी छ । उदाहरणका लागि भान्छा, पूजाकोठा, धार्मिक, सामाजिक कार्यहरू, विवाह र महिनावारी बार्ने वा नबार्ने, आदि इत्यादिमा महिलाहरू नै बढी सक्रिय हुन्छन् । यही कारणले गर्दा पनि त्यसक्षेत्रमा जात र पितृसत्तालाई कसरी बुझिन्छ, कसरी अरुलाई बुझाइन्छ भनी जान्नु जरुरी छ । लिला दुवेले आफ्नोे लेख ‘जात र महिला’ (Caste and Women, 1997) मा लेख्छिन्, ‘घरभित्र जातको सांस्कृतिक पहिचान बनाइराख्ने जिम्मा मूल रूपमा महिलाको हुने हुनाले उनीहरू भरमग्दुर रूपमा यसमा लागिपर्छन् । त्यो जिम्मेवारीको बोध उनीहरू भान्छाकोठाको शुद्धता कायम राख्नेदेखि जातमा आधारित पेसाको निरन्तरतामा पनि देखाउँछन् ।’ 

भान्छा, पूजाकोठा, विवाह र महिनावारी आदि क्षेत्रहरूबाट उनीहरू जातका नियमहरू (चोखो, बिटुलो) आफूले पनि मान्ने र परिवारलाई पनि मनाउन लागिपरेका हुन्छन् । युवाहरूलाई फकाएर वा तर्साएर भए पनि यी कुराहरू सिकाउन उद्यत देखिन्छन् । त्यसैले गैरदलित युवाहरूले पहिलात आफ्नै जातभित्रको चोखो बिटुलोको नियमहरू सिक्दै जान्छन् । सिक्ने क्ममा कतिले त यसको विरोध पनि गर्दै जान्छन् । तर, धेरैले सम्पूर्ण रूपमा यसलाई नकार्न पनि सक्दैनन् । उदाहरणका लागि युवती/महिलाहरूले महिनावारी बार्न नखोज्ने र नबार्ने चलन बढेर गएको छ । यसबाट आमा/हजुरआमाहरूमा बढेको चिन्ताको फलस्वरूप नै नया पुस्तासँग उनीहरूको कुराकानीको स्वरुप पनि फेरिएको छ । उनीहरू आफ्ना छोरीहरूसँग अरु छोए पनि महिनावारी भएको बेलामा भान्छा र पूजाकोठा चाहिँ नछोइदिनुूभनी याचना गर्न पनि पछाडि पर्दैनन् । यो अनुरोधलाई सजिलैसँग नकार्न युवापुस्तालाई पनि त्यत्ति सजिलो देखिँदैन । भान्छा नभए पनि देवताको ठाउँचाहिँ नछोइदिऊँ न त भन्ने भावना पनि कैयौँ नयाँ पुस्ताका महिलाहरूमा देखिन्छ । उनीहरूको यो भावनाको पछाडि आफ्ना आमा, काकी वा दिदीहरूको पालामा भन्दा आफूले पाएको सुविधा धेरै नै भएको र त्यसबाट आफूहरू केही हदसम्म भाग्यमानी भएको महसुस गर्नु पनि हो । यस्तै, अरुबेला नभए पनि देवता र पितृकार्यमा चाहिँ चोखो बिटुलोको ख्याल राख्नू है भनी आमा, वा काकीले सम्झाएको कुराको पनि केही असर पक्कै पर्छ, युवापुस्तामा । छुवाछुतको पराकाष्ठाः दलित शिक्षक भन्दै विद्यालय बहिष्कार

यसरी नै वाहुन/क्षत्रीबाहेक अरु गैरदलित समुदायमा पनि दैनिकीमा जातको शुद्धता वा अशुद्धताका बारेमा बुझ्ने, बार्ने र बुझाउने गरिन्छ । उदाहरणका लागि नेवार समुदायभित्र ठूलो जात र सानो जात भनी जातको वर्गीकरण गरिन्छ । र, खासगरी विवाहको बेलामा यो नियम बलियोसँग लागू गराउन घरपरिवार लागिपर्दछन् । घरमा महिलाहरूको भूमिका पनि यस्तो बेलामा महत्त्वपूर्ण रहन्छ । एक जना नेवार विद्यार्थीले जातको विषयको छलफलमा एकपल्ट भनेका थिए, ‘मेरी आमा सबै कुरामा स्वतन्त्र विचारकी भए पनि मेरो विवाहमा उहाँको बढी नै चासो थियो । म विदेशमा पढेर आएको भए पनि मेरो विवाह नेवारसँगै र नेवारभित्र पनि आफ्नै थरसँग हुनुपर्छ भन्ने उहाँको अडान थियो । उहाँँले कतिसम्म भन्नुभयो भने जात मिल्ने बुहारी भएन भने भान्छामा हुल्न मिल्दैन । मैले उहाँँको कुरा नकार्न सकिनँ । मेरो विवाह नेवारभित्र पनि जात मिल्ने केटीसँगै भयो । किनकि मेरा लागि आमाले धेरै त्याग गर्नुभएको छ’ । उक्त विद्यार्थीको विचारमा आफ्नै जातभित्र त जातको शुद्धता खोजिन्छ भने दलित र गैरदलितबीचको विवाह त धेरै टाढाको कुरा छ ।

जातबारेको सिकाइ घरबाटै भैरहेको छ भन्ने अर्को उदाहरणको रूपमा जेन्डर स्टडिजको एक महिला विद्यार्थीको जातप्रतिको बुझाइबाट पनि थप प्रस्ट हुन्छ । उनको आमाबुबाको अन्तरजातीय विवाह भएको थियो । बाबु बाहुन र आमा नेवार । यो गैरदलितबीचको विवाह थियो । तर, परिवारको स्वीकृतिबेगरको । त्यसैले उनको आमालाई घरका व्यक्तिले नेवार भनेर बुहारीको रूपमा स्वीकारेनन् भने माइतीले पनि अर्को जातमा गएर जात फाली भनी घरको ढोका बन्द गरिदिए । त्यसैले उनीहरूको छुट्टै घरजम भयो । पछि उनकी आमालाई बाबुको घरमा भित्र्याए पनि पूजा र देवकार्यमा जहिले पनि अलग्याइन्थ्यो । एकपल्ट हजुरबुबा बित्दाखेरी आफ्नी आमालाई त्यो घरमा बस्न नदिई अर्कै घरमा जान बाध्य बनाएको र आफू पनि सानो भएकाले आमाकै साथ लागेको घटना उनीसँग अझै पनि ताजै छ ।

जातीय व्यवस्था र पितृसत्ता एकअर्काका पूरक पनि हुन । जात व्यवस्था र पितृसत्ता महिलालाई नियन्त्रण गरेर मात्र टिकिरहन सक्छन् । खासगरी महिलाको यौनिकतामाथिको नियन्त्रण जातीय व्यवस्थामा आधारित पितृसत्ताको अनिवार्य सर्त हो । 

त्यो घरमा उनकी आमाको स्थान जातकै कारणले तल थियो । उनी कुनै न कुनै रूपमा सधैँ नै अशुद्ध थिइन् । त्यो कुराले उनलाई सधैँ नै पोल्थ्यो । मेरी आमालाई किन यस्तो भोग्नुपरेको भन्ने कुरा आजसम्म पनि मनमा आउँछ । उनी थप्छिन्, ‘मैले हुर्किने क्रममा जसरी जातलाई बुझेँ, भोगेँ, त्यसबाट म भन्न सक्छु– जातीय व्यवस्थाले हामी गैरदलितलाई त यति असर पार्छ भने दलितको जीवन त कस्तो होला भनी कल्पना गर्नै पनि गाह्रो पर्छ । यो जातीय व्यवस्था नै हट्नुपर्छजस्तो लाग्छ मलाई त । तर हाम्रो जीवनकालमा सम्भव छैनजस्तो पनि लाग्छ ।

यी भनाइहरूले के प्रस्ट हुन्छ भने यी दैनिकीमा देखेका र भोगेका जातका कुराले केही हदसम्म गैरदलित युवापुस्तालाई जातको डोरीले बाँधिनै रहन्छ । कैयौँ युवाहरूमा दलितसँग घुलमिल भए पनि विवाह त गर्न हुँदैन भन्ने भावनाको विकास पनि यसैको निरन्तरता हो भन्ने लाग्छ । 

खासगरी युवापुस्तालाई आफ्ना आमा हजुरआमाहरूले के पाठ पढाइराखेका छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । घरमा बाल्यकालदेखि देख्दै र सिक्दै आएको कुरा नै आफूले आत्मसात् गर्ने हो । उनीहरू तल्लो जातका संसर्गबाट सकेसम्म आफू र परिवारका अरु सदस्यहरूलाई टाढै राख्न भरमग्दुर प्रयास गरिरहेका पुराना पुस्तालाई देख्दै आएका छन् । साथै, दलितसँग धेरै हिमचिम गर्नु हुँदैन, उनीहरू र हामीहरू जातको हिसाबले नितान्त फरक हौँ भन्ने पाठ पनि पढेर आएका युवाहरूलाई दलितसँग विवाह गर्न हुँदैन भनेर धेरै सिकाउनु नै पर्दैन । यो कुरा त उनीहरूले आत्मसात् गरिसकेका हुन्छन् । त्यसैले पनि धेरै युवाहरूमा दलितलाई साथीसम्म बनाउने, घुमफिर गर्ने तर विवाहको कुरा आयो भने पन्छिने प्रवृत्ति छ । 

अबको बाटो के त ? 

घरभित्र पनि पसौँ : नारीवादीहरूले उठाउँदै आएका ‘पर्सनल इज पोलिटिकल’ भन्ने भनाइलाई मान्ने हो भने पनि घरभित्र र घरबाहिरका कुराहरू एकआपसमा जोडिएका हुन् । घरभित्रको जातीय बुझाइले घरबाहिरको व्यवहारमा ठूलो असर पर्छ । जातीय भेदभाव हटाउन विविध प्रयासहरूको फलस्वरूप सार्वजनिक रूपमा दलितमाथिको भेदभाव र थिचोमिचो केही हदसम्म कम भएको छ । तर घरभित्र जात बचाउने प्रयत्न जारी नै छ । घरलाई जातीय शुद्धताको मानक बनाउने प्रयास जारी नै देखिन्छ । तर, घरभित्र खोतल्ने प्रयास कमै भएको देखिन्छ । उच्च जात जसले जात बचाउने प्रमुख जिम्मा लिएका हुन्छन्, उनीहरूको जीवनलाई बुझ्ने र त्यहाँभित्रको जातको चुरो पत्ता लगाउन सकिएमा जातीय भेदभाव हटाउन केही मद्दत पुग्थ्योजस्तो लाग्छ ।

त्यसका लागि घरभित्र कुनकुन क्षेत्रमा र कसरी जातको महत्त्वलाई बचाइराखिएको छ र जातबारेको ज्ञान पुस्तान्तरण कसरी भइराखेको छ भनी जान्नु आवश्यक छ । 

घरभित्रका प्रमुख व्यक्ति ‘महिला’को जीवन बुझौँ र बदल्ने प्रयास गरौँ 

भान्छा र पूजाकोठालाई घरभित्रका सबैभन्दा शुद्ध ठाउँ मानिन्छ । त्यसैले यी ठाउँहरूमा आफ्नो जातबाहेक अरुलाई वर्जितै गर्ने प्रयास अझ कायमै छ । त्यसैले दलितको पहुँच त अझै वर्जित छ । जस्तै, छोराछोरीले दलित साथीहरू घरमा ल्याउँदा उनीहरूको उपस्थितिलाई आँगन र बैठक कोठाहरूमा, जसलाई घरभित्रको सार्वजनिक ठाउँ भनेर पनि बुझिन्छ, मा नै सीमित राख्ने प्रयास गर्ने चलन छ । यो तहको घुलमिल केही हदसम्म स्वीकार गरे पनि भान्छा र पूजाकोठामा उनीहरू पस्लान् वा छोराछोरीले लिएर जालान् भन्ने हदैसम्मका चिन्ता उच्च जातमा देखिन्छ । प्राय: घरभित्र बस्ने र घरभित्रको जिम्मेवारी सम्हालेका महिलाहरूले यसमा गेटकिपरको काम गरिरहेका हुन्छन् । धर्म, संकृति बचाउने कामको मूल जिम्मा महिलाकै हुने हुनाले जातीय व्यवस्थाबाट पुरुषहरूलाई, त्यसमाथि पनि उच्च जातका पुरुषलाई नै बढी फाइदा हुने भए पनि महिलाहरू नै त्यसलाई बचाउन लागिपर्छन् । 

त्यसैले सर्वप्रथमत महिलालाई आर्थिक, सामाजिक रूपमा आत्मनिर्भर बनाउन आवश्यक छ । जातप्रथा र लैंगिक असमानता एकअर्कोसँग जोडिएका हुन्छन् । परनिर्भर महिलाहरू पितृसत्ताको वाहक हुन्छन् । ‘उनीहरू धर्म, संकृतिको जगेर्नामा पनि बढी संलग्न हुने हुनाले पनि उनीहरूलाई आर्थिक, सामाजिक रूपमा आत्मनिर्भर बनाउनु जातको जरो कमजोर पार्ने एक उपाय हुन सक्छ । घरायसी काममा निपूण हुने र धर्म, संकृतिको जगेर्ना गरेर नै धेरै महिलाहरूले विवाह गरेर गएको घरमा आफ्नो स्थान सुरक्षित पारेका हुन्छन् । होेइन भने उनीहरूको गाँस, बासमा नै समस्या आउन सक्छ । त्यो कुरा राम्ररी बुझेका महिलाहरू यसको विपरीत जान पनि चाहँदैनन् । जातीय व्यवस्था कमजोर पार्न लैंगिक समानताका लागि पनि प्रयास गरौँ ।

छुवाछुतरहित र समतामूलक समाजमा विश्वास गर्ने गैरदलितले पहिला आफैँतिर फर्किनुपर्छ 

दलितमाथिको विभेद अन्त्यका लागि पहिला त गैरदलित, त्यसमाथि पनि उच्च जातले आफैँतिर फर्किनुपर्छ । त्यसमा पनि समतामूलक समाजमा विश्वास गर्ने दोस्रो पुस्ताको काँधमा यो जिम्मेवारी आउँछ । किनकि पहिलो पुस्ता जातीय व्यवस्था बलियो भएको बेलामा बढे, हुर्किए । जातका नियमलाई त्यसरी नै आत्मसात् पनि गरे । जातका नियमहरू आफू पनि नमान्ने र तल्लो पुस्तालाई पनि मान्न नलगाउने भन्ने त सोचाइ नै आउँदैन उनीहरूलाई । तर, दोस्रो पुस्ताको जीवनमात धेरै उथलपुथल आइसकेको छ । कति त राजनीतिक, सामाजिक परिवर्तनका वाहक पनि बनेका छन । तर, यदि उनीहरू नै आफ्नै जातका नियमलाई आफूले कडाइका साथ पालन गरिराखेका छन् भने दलित–गैरदलितबीचको दूरी मेटाउनै सक्दैनन् । त्यसैले पहिला जातको आधारको छुवाछुतको नियम सामाजिक हो कि प्राकृतिक भन्ने कुराको निर्क्योल गरौँ । आफूले राम्रोसँग मनन गरौँ । आफ्नो जातका नियममा हामी जति खुकुलो हुन्छौँ, त्यति नै दलित–गैरदलितबीचको दूरी मेटाउन सफल हुन्छौँ ।

छोराछोरीसँग जातका बारेमा खुलेर कुरा गरौँ 

अमेरिकामा गएको वर्ष ‘ब्ल्याक लायभ्स म्याटर’ नामक आन्दोलन भएको थियो । जो अझैसम्म पनि छ तर त्यो आन्दोलन अहिले केही मत्थर छ । काला जातिहरूलाई गोराहरूले वर्षौंदेखि गर्दै आएको थिचोमिचोको विरोध थियो त्यो आन्दोलन । त्योे आन्दोलनको विविध उपलब्धिमध्ये गोरा बाबुआमाले पहिलोपल्ट खुलेर आफ्ना छोराछोरीसँग रगंभेदका बारेमा कुराकानी गरे र त्यसको उपलब्धिको रूपमा छोराछोरीहरूको रगंभेदसम्बन्धी विचार फराकिलो भएको समाचार बाहिर आएको थियो ।

यसरी नै बाबुआमाले सामाजिक अन्यायका बारेमा हुर्किंदै गरेका छोराछोरीसँग खुलेर कुरा गर्ने गरेमा तल्लो पुस्तालाई त्यो विषयसँग जोडिन सहज हुन्छ । बाबुआमा र छोराछोरीबीचको सम्बन्ध पनि राम्रो हुन्छ । तर के कुरा गर्ने, कसरी गर्ने भन्ने कुरा आफैँमा महत्त्वपूर्ण हुन्छ । उदाहरणका लागि रुकुम हत्याकाण्ड । हामीहरूले हाम्रो घरपरिवारका युवापुस्तासँग योबारेमा कुरा गर्‍यौँ कि गरेनौँ ? गर्‍यौँ भने गैरदलित र दलितबीचको प्रेम र विवाहका बारेमा हाम्रो भनाइ के रह्यो ? त्यो प्रेमको विरोधमा उत्रिएको घरपरिवार, छिमेक र राज्यसत्तालाई हामीले कसरी बुझेका छौँ र छोराछोरीलाई कसरी बुझायौँ ? अनि हाम्रो भनाइ र गराइ कति मिल्छ ? किनकि यस्तो कुरामा प्रगतिशील भइदिन सजिलो छ तर त्यही कुरा आफ्नो जीवनमा ढाल्न त्यत्तिकै गाह्रो छ । आफूले विश्वास नगरेको र आफ्नो जीवनमा नढालिसकेको कुरा छोराछोरीलाई सिकाउँछु भन्नु खोक्रो आडम्बर मात्रै हुन्छ ।

युवाहरूको जिम्मेवारी 

गैरदलित युवाहरूले सबैभन्दा पहिले आफ्नो जातप्रतिको बुझाइलाई केलाउनुपर्छ । त्यो बुझाइलाई अरु साथीहरूबीचमा छलफल गर्नुपर्छ । आफूले आत्मसात् गरिसकेका जातका बारेको ज्ञानलाई प्रश्न गर्ने साहस गर्नुपर्छ । साथै, जन्मेका आधारमा कोही सानो जात र ठूलो जात हुँदैन भनी नयाँ ज्ञानलाई ग्रहण गर्ने आँट पनि देखाउन सक्नुपर्छ । जन्मका आधारमा दलितमाथि हुने अत्याचार अन्त्यका लागि पहिले आफूले सिक्दै र भोग्दै आएका जातका नियमहरूलाई भत्काउने प्रयासमा लाग्नुपर्छ । त्यसबाट मात्र जातको डोरी खुकुलो हुन्छ । त्यसरी नै सबै मानिसहरू समान हुन् भन्ने नयाँ ज्ञानको निर्माणमा लाग्ने आँट पनि गर्नुपर्छ । सिलापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *