
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले आव २०७८÷७९ सम्पादन गरिने वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । प्रमुख प्राज्ञ अशोककुमार राईले आफूले नेतृत्व गरेको सङ्गीत विभागबाट चार कार्यक्रम सम्पन्न गर्ने लक्ष्य लिइएको बताउनुभयो । उहाँका अनुसार यस वर्ष चार प्रदेशका आठ स्थानमा नेपाली मौलिक वाद्यवादनसम्बन्धी प्रशिक्षण सञ्चालन गरिनेछ । प्रशिक्षार्थीलाई पूर्वीय तथा पाश्चात्य सङ्गीतको सैद्धान्तिक ज्ञान दिनाका साथै सम्बन्धित बाजाको ऐतिहासिक पृष्ठभूमि, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा समेत ज्ञान प्रदान गरिने छ । राईले यस वर्ष सनाई, सारङ्गी, मुर्चुङ्गा, बिनायो, पियुङ, टुङ्ना, डम्फु, धिमे, च्याब्रुङ, राई ढोल, धिमाल ढोल, मादल, बाँसुरी र ढोलक वाद्यवादनसम्बन्धी प्रशिक्षण चलाइने बताउनुभयो । गण्डकी प्रदेशमा रहेका गन्धर्व समुदायको धार्मिक तथा विभिन्न संस्कार–संस्कृतिमा बजाइने धुनको सङ्कलन तथा रेकर्डिङ गरी अभिलेख राखिनेछ । सोको पृष्ठभूमिसहित वृत्तचित्रसमेत बनाइने छ ।
