
जिल्ला प्रहरी कार्यालय बाँकेमा ४ दिन पहिला कार्यभार सम्हालेका एसपि श्याम कृष्ण अधिकारीले २ तस्कारहरुलाई प्रहरी फन्दामा पार्न सफल भएका छन् ।

बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकारहरुसंगको भेटघाटका क्रममा बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले स्कुटरको डिक्कीबाट चितुवाको छालासहित दुईजनालाई नियन्त्रणमा लिएको बताउनुभयो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुशुम बजारबाट प्रहरीले घोराही उपमहानगरपालिका ९ का ३२ वर्षीय सन्तोष कुँवर र भैरवी गाँउपालिका ३ दैलेखका १९ वर्षीय जितेन्द्र शाहीलाई चितुवाको छालासहित नियन्त्रणमा लिएको प्रमुख प्रमुख अधिकारीले बताउनुभयो ।
बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको अवस्थामा कुँवरले चलाएको रा४प ६५०४ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा डिक्कीभित्र कालो झोलामा राखिएको ३ फिट ३ ईन्च लामो चितुवाको छाला बरामद गरिएको जनाउनुभयो ।
कसरब ३० लाख मूल्यमा उक्त छाला किनबेच गर्ने गरी उनीहरुले नेपालगञ्ज ल्याउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो । विगतका समयमा पनि कोहलपुरमा धेरै पटक चितुवाका छाला र गैंडा तथा हात्तीका महत्वपूर्ण अंगहरु पनि बेचबिखन गर्न लागेको बेला प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ ९१० बमोजिम पक्राउ परेका दुबैजनालाई नगद पाँच लाख देखि १० लाख रुपियाँसम्म जरिवाना र पाँचदेखि १५ वर्षसम्म कैद सजाय वा दुवै हुनसक्ने व्यवस्था रहेको छ ।
