
काठमाडौ । संसद् विघटनसम्बन्धी मुद्दामा सरकार अर्थात विपक्षी राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट आज बहस सकिँदै छ । महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिलपछि बुधबारदेखि निजी वकिलले बहस गरिरहेका छन् । उनीहरूले आज डेढ घण्टा बहस गरेपछि तोकिएको समय सकिनेछ । त्यसपछि सभामुखका तर्फबाट बहस सुरु हुनेछ । प्रधानमन्त्री र राष्ट्रपतिका तर्फबाट बहस गर्न अझै १३ अधिवक्ता सूचीमा छन् । उनीहरूमध्ये तीन जनालाई १० मिनेट र १० जनालाई ७ मिनेटका दरले समय छुट्याइएको छ । बरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणी अधिकारी र अधिवक्ता ईश्वरीप्रसाद भट्टराईका लागि १० मिनेटका दरले बहस गर्न समय तोकिएको छ । त्यसपछि अधिवक्ताहरु भोजराज आचार्य, बाबुराम दाहाल, सीपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोख्रेल, शान्तिदेवी खनाल, विष्णुमाया भुषाल, धर्मराज रेग्मी, अनन्त लुईंटेल र लोकनाथ खरेलले क्रमशः ७ मिनेटका दरले बहस गर्नेछन् । यसअघि १० जनाले बहस गरेका थिए । उनीहरुको बहस सकिएपछि सभामुखका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन्। । गत जेठ ८ गते सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० रिट दर्ता भएका छन् । अहिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४६ सांसदको रिटमा सुनुवाई भइरहेको हो । उक्त मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन भएको छ ।
