
टीकापुर: कैलालीका विद्यालयमा विद्यार्थीको शिक्षण सिकाइमा सहजताका लागि ‘हेलो शिक्षक’ कार्यक्रम लागू गरिएको छ । कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा घरमै अध्ययन गर्ने विद्यार्थीलाई सिकाइमा सहजताका लागि केही विद्यालयले हेलो शिक्षक कार्यक्रम लागू गरेका हुन् । विद्यालयले टेलिफोनमै विद्यार्थीलाई परामर्श दिन थालेका छन् ।दुई महिना विद्यालय बन्द भएपछि असार महिनादेखि कैलालीका विद्यालय खुलेका छन् । विद्यालय प्रशासन खुले पनि विद्यार्थीलाई विद्यालय बोलाएर अध्यापन गर्ने वातावरण बनेको छैन । अझै समुदायमा सङ्क्रमण देखिइरहेकाले भौतिकरूपमा विद्यालयमा उपस्थित भई पढाइ सञ्चालन कहिलेदेखि हुने भन्ने यकिन छैन । घरमै बसिरहेका विद्यार्थीलाई विद्यालयले विभिन्न माध्यमबाट सहजीकरण गरिरहेका छन् । इन्टरनेटको सुविधा भएका विद्यालयले भर्चुअल माध्यमबाट अध्ययन गराउन थालेका छन् भने नेटको सुविधा नभएका विद्यार्थीले टेलिफोन गरेर नजानेको कुरा सोध्ने, केही समस्या भए परामर्श लिने काम थालेका छन् ।
