
नेकपा(माओवादी केन्द्र)का पूर्व नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भुमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाउनुभएको छ । शुक्रवार माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्नका लागि अन्य नेताहरु सहित पुग्नुभएका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐन अनुसार नचली भुमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाउनुभएको हो । उहाँले विगत २९ वर्षदेखि सो पार्टीमा महाधिवेशन नभएको भएपनि २०६९ सालमा एउटा नाममात्रैको महाधिवेशन भएको र तत्पश्चात पनि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको पनि बताउनुभयो । उहाँले अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरको पनि उल्लेख गर्नुभयो ।
