
काठमाडौंः नेकपा (एमाले)ले महाधिवेशनबाट अध्यक्ष र केन्द्रिय सदस्यहरुमात्रै निर्वाचित गर्ने गरी विधान संशोधन प्रस्ताव तयार पारेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सोमबार बसेको पार्टीको केन्द्रिय समिति बैैठकले महाधिवेशनबाट अध्यक्ष र केन्द्रिय सदस्यहरुमात्रै निर्वाचित हुने गरी विधान संशोधन प्रस्ताव तयारी पारी पार्टीको तल्लो निकायसम्म छलफलका लागि पठाउने निर्णय गरेको हो । प्रस्तावित विधानमा अध्यक्ष १, उपाध्यक्ष २, महासचिव १, उपमहासचिव २ र सचिवहरु ७ जना रहने व्यवस्था गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनु भयो । उहाँले अध्यक्ष बाहेकका अन्य पदाधिकारीको चयन भने पार्टी केन्द्रिय समितिले गर्ने प्रस्ताव पनि संशोधनका लागि तयार पारिएको विधानमा उल्लेख गरिएको स्पष्ट पार्नु भयो । एक महिना पार्टीको तल्लो कमिटीले छलफल गरेपछि सो प्रस्तावित विधान आगामी भदौं २७ र २८ गते हुने एमालेको विधान महाधिवेशनले पारित गर्नेछ । प्रवक्ता ज्ञवालीले विधान महाधिवेशन गर्ने स्थायी समितिको प्रस्तावलाई पनि अनुमोदन गरेको जानकारी दिनु भयो ।
