
काठमाडौंः १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा आयोजना हुने भएको छ । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखी १३ सम्म माल्दिभ्समा आयोजना हुने भएको हो । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए । १३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भईसकेको छ भने भुटानले तीन दिनपछि निर्णय दिने जनाएको एन्फाले जानकारी दियो ।वर्ष दिन पछि धकेलिएको प्रतियोगिता यस अघि सेप्टेम्बर १४ देखि २५सम्म ढाकामा हुने तालिका रहेको थियो । तर आयोजक बंगलादेशले कोभिड–१९ महामारीका कारण आयोजना नगर्ने जानकारी गराएपछि आयोजकको अनिश्चित भएको थियो । अन्तत माल्दिभ्समा हुने पक्का भएको हो । बंगलादेशले कोरोना महामारीका कारण आयोजना गर्न नसक्ने जनाएपछि नेपाल र माल्दिभ्सले आयोजनाका लागि चासो देखाएका थिए ।
