दिगो विकासका लक्ष्य प्राप्तिका लागि सशक्त राजनैतिक संयन्त्र बनाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । संघीय संसद, राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको मंगलवार सिंहदरवारमा बसेको बैठकले दिगो विकास लक्ष्य प्राप्तिको लागि सशक्त राजनैतिक संयन्त्र र प्रतिवद्धता खाँचो भएकोले यसमा ध्यान दिन सरकारलाई निर्देशन दिएको हो ।
दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा सरकारको प्रतिवद्धता अनुसार राष्ट्रिययोजना आयोगले प्रभावकारी अनुगमन र कार्यान्वयन गर्न पनि समितिले निर्देशन दिएको छ । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले राजनीतिक नेतृत्वले मुलुकलाई विकासको गतिमा लैजाने सवालमा अकल्पनिय काम गर्न सक्ने भएकाले दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा पनि ससक्त राजनीतिक संयन्त्र र प्रतिवद्धताको खाँचो रहेको बताउनुभयो ।
समाज परिर्वतन गर्न सक्ने राजनितिक शक्तिलाई दिगो विकास लक्ष्य हासिल गर्ने सन्र्दभमा पनि शक्तिको रुपमा पनि प्रयोग गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो । त्यसका लागि राजनैैतिक नेतृत्वबीच साझा समझदारी र प्रतिवद्धता दुवै आवश्यक रहेको उहाँको तर्क थियो ।

