काँग्रेस जिल्ला सभापतिहरुले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न माग गरेका छन् ।


काठमाडौं भाद्र ०८ । काँग्रेस जिल्ला सभापतिहरुले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गरेका छन् । मंगलबार बिहानै सानेपास्थित पार्टी केन्द्रिय कार्यालय पुगेका उनीहरुले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै धर्ना दिन सुरु गरेका हुन ।

१४ औं महाधिवेशनको तयारीमा जुटेका आफूहरुलाई महाधिवेशनको तयारीका लागि पनि क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी नेतृत्वलाई दवाव दिन धर्ना कार्यक्रम सुरु गर्नु परेको नेपाली काँग्रेसका रामेछाप जिल्ला कार्य समितिका सभापति लबश्री न्यौपानेले जानकारी दिनु भयो ।

उहाँले महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न पनि आफूहरुले पार्टी नेतृत्वलाई दवाव दिएको स्पष्ट पार्नु भयो ।नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने मिति पछिल्लो समय पुनः तोकिएको छ ।

काँग्रेस सभापतिहरुले सो मितिमै पार्टीको महाधिवेशन सम्पन्न गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिन पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिनु परेको स्पष्ट पारेका छन । धर्ना कार्यक्रममा पुगेर नेपाली काँग्रेसका नेताहरु शेखर कोइराला, अर्जुन नरसिंह केसी र गगन थापाले पनि अभिलम्ब क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *