राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुनसक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैँ अगावै परीक्षा हुनसक्ने अवस्था सिर्जना भएको जानकारी बोर्डका अधिकारीहरूले दिएका छन् ।
११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएमा आफूहरू दशैँ अगावै परीक्षा गर्न सक्ने अवस्थामा रहेको जानकारी दिनुभयो । सीसीएमसीसित अनुमति लिएपछि १५ दिनको अग्रिम सूचना दिएर विद्यार्थीका लागि परीक्षाका बारेमा सूचित गरिने उहाँले बताउनुभयो ।
राजधानी र सहरी क्षेत्रमा अध्ययन गर्ने धेरै परीक्षार्थीहरू परीक्षा रोकिएपछि गाउँतिर लागेकाले उनीहरूलाई परीक्षाका बारेमा अग्रिम सूचना दिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

