काठमाडौं, भाद्र २४ गते । डेब्यु खेलाडीद्वय प्रिति राई र सबिता रानाको दुई गोलको मद्दतमा आज नेपालले बंगलादेशसँगको पहिलो मैत्रिपूर्ण खेलमा सुखद नतिजा निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा २–१ को जित निकालेको हो ।
सुरुआतमा केही दबाब खेपेको नेपालका लागि १४औं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन । विमला चौधरीको क्रस बललाई सबिताले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
अग्रता लिएपछि भ्रमणकारी बंगलादेशमाथि हाबी बनेको नेपालका लागि २३औं मिनेटमा प्रितीले दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन् ।
सरु लिम्बुले मिडफिल्डबाट निकालेको पासमा शानदार गोल गर्दै राष्ट्रिय टोलीका लागि इतिहाँस रच्न सफल भइन् । नेपालका लागि गोल गर्ने दुबै खेलाडीले डेब्यु गरेका हुन र गोल पनि गर्न सफल भएका हुन ।

