नेपालको परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तय गर्न सरकार र राजनीतिक दलहरुलाई परराष्ट्रवीद्हरुलेआग्रह गरेका छन ।
परराष्ट्रवीद् ज्ञानचन्द्र आचार्य, डा. मृगेन्द्र कार्कीलगायतका विज्ञहरुले अफगानिस्तानमा तालिवानी विद्रोहीको कब्जाको घटनाबाट पाठ सिकेर परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तत्काल बनाउन नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको हो ।
पूर्व राजदुत समेत रहनु भएका आचार्यले अन्य देशको अस्वभाविक प्रभाव र दवावलाई थेगेर मुलुकलाई अघि बढाउन राजनीतिक दलहरुले समान धारणासहितको परराष्ट्र नीति ल्याउन ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो ।
विभुवन विश्वविद्यालय नेपाल तथा एशीयाली अध्ययन केन्द्र (सिनास)का कार्यकारी निर्देशक डा. मृगेन्द्र कार्कीले मुलुकको राष्ट्रिय सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिनु भयो ।
उहाँले नेपालको राष्ट्रिय सुरक्षामा आँच आउने खालका गतिविधि यस अघि पनि हुने गरेको उल्लेख गर्दै त्यसो हुन नदिने गरी राष्ट्रिय सुरक्षा संयन्त्रहरुलाई परिचालन गर्नुपर्ने पनि बताउनु भयो । कार्यकारी निर्देशक कार्कीले अफगानिस्तानको घटनाले नेपाललाई पनि आफ्नो राष्ट्रिय सुरक्षामा ध्यान दिन सचेत गराएको पनि स्पष्ट पार्नु भयो ।

