काठमाडौं, भाद्र २९ गते । सरकारले निपा भाईरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गर्नु भएको हो ।
मंगलबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्राइँ गर्नुनहुने बताउनुभयो ।
उहाँले निपा भाइरसको कुनै भ्याक्सिन बनि नसकेकोले यसबाट बच्न सबै सचेत र शतर्क हुनुपर्ने बेला आएको बताउनुभयो । प्रवक्ता पौडेलले निपा भाइरसको मृत्युदर निकै उच्च रहेको र यो भाइरस फलफूल बढी खाने चमेरो (फ्रुट ब्याट) बाट पशुमा र पशुबाट मानिसमा सर्ने बताउनुभयो ।
निपा भाइरसले मस्तिष्कमा चाँडो असर गर्ने, कोमामा पुर्याउने र बेहोस बनाउने गरेको बताउँदै प्रवक्ता पौडेलले पशुपंक्षीले जुठो पारेका, खोपेर छोडेका फलफूलहरु असावधानीवश पनि नखान आग्रह गर्नुभयो ।

