वाग्मती प्रदेश सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई चालु आर्थिक वर्ष २०७८/०७९ मा दुई प्रतियोगिताका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
प्रदेश सरकारले एन्फालाई सहिद स्मारक ‘ए’ डिभिजन लिग र प्रदेश लिग आयोजनाका लागि १ करोड उपलब्ध गराउने भएको हो । ‘ए’ डिभिजन लिग कात्तिक २९ देखि काठमाडौंमा हुँदै छ । प्रदेश लिगको मिति भने तोकिएको छैन ।
वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीको उपस्थितिमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार एन्फालाई पहिलो चरणमा ५० लाख रुपैयाँ उपलब्ध गराइने छ । उक्त रकम ‘ए’ लिगको हरेक खेलमा जित हासिल गर्ने टिमलाई ‘म्याच मनी’ स्वरूप ५० हजार रुपैयाँका दरले प्रदान गरिनेछ । खेल बराबरी भए उक्त रकम आधा बाँडिने सम्झौतामा उल्लेख छ ।

