नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको बताउनु भएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले अहिलेको सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको जस्तो देखिएको टिप्पणी समेत गर्नुभयो ।
प्रमुख सञ्चार माध्यामका सम्पादकहरुसँग मंगलबार अपरान्ह अन्तरक्रिया गर्दै उहाँले सरकारलाई सञ्चार माध्यामहरुले खवरदारी गर्न नपुगेको पनि स्पष्ट पार्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘सरकारलाई खवरदारी गरेन भने लापरबाही जस्तो हुँदो रहेछ ।
जस्तो अहिलेको सरकार । अहिलेको सरकारलाई खवरदारी पुगेनकि जस्तो लाग्छ । संविधान, कानुनको मतलव छैन ।’ अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउने मनसायले सरकारले अध्यादेश ल्याएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
उहाँले परमादेशबाट बनेको सरकारले लोकतन्त्रलाई कम्जोर पार्ने भएकाले आफू चिन्तित भएको तर्क समेत गर्नुभयो । अध्यक्ष ओलीले सरकारले बजेटमार्फत् कालो धनलाई सेता बनाउन खोजेको भन्दै आपत्ति जनाउनुभयो ।
सरकारको सो निर्णयले नेपालमा विपत्ति ल्याउने ओलीको दावी थियो । तर आफ्नो पार्टीेले कालो धनलाई सेतो बनाउने सरकारको प्रयासलाई सफल हुन नदिने अध्यक्ष ओली बताउनुभयो ।

