बाँके । बाँकेको डुडुवा गाउँपालिकाले संचालन गरेको ‘जेष्ठ नागरिकसँग अध्यक्ष’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
स्थानीय तहको निर्वाचन पछिको गाउँपालिकाको पहिलो गाउँसभाले नै ‘जेष्ठ नागरिकसँग अध्यक्ष” कार्यक्रम ल्याएको थियो । स्थानीय जेष्ठ नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले ल्याइएको जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
पालिकाले स्वास्थ्यकर्मी सहित प्रत्येक घर घरमा पुगेर ६०वर्ष माथिका ज्येष्ठ नागरिकहरुको सुगर,प्रेसर लगायत स्वास्थ्य परिक्षण गर्दै उनीहरुलाई आवश्यक परामर्श सहित निशुल्क औषधी वितरण गर्दै आएको छ ।
पालिकाको यो कार्यक्रम प्रभावकारी बनेको जेष्ठ नागरिकहरुको भनाई छ । आफ्नै घरमा,निशुल्क सेवा सहितको औषधी उपचार पाए पश्चात घण्टौँ हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । यसले गर्दा ज्येष्ठ नागरिकहरुलाई धेरै सहज भएको डुडुवा गाउँपालिका वडा नम्वर ४ अम्रहवाका जेष्ठ नागरिक कुशल बहादुर थापाले बताए ।
आफ्नै घर आँगनमा स्वास्थ्य उपचार पाएपछि पालिकाका जेष्ठ नागरिकहरु अहिले स्थानीय सरकार भएको महशुस गरिरहेका छन् । नागरिकहरुको मन जित्न अझै यि र यस्ता प्रकारका नयाँ अभ्यासहरु स्थानीय तहले गर्न सके नागरिकले सिंहदरवारको अधिकार गाउँमानै आएको महशुस गर्न सक्ने जेष्ठ नागरिकको भनाई थियो ।
जेष्ठ नागरिक संग अध्यक्ष कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि स्वास्थ्यकर्मीहरु शनिबार पनि जेष्ठ नागरिकहरुलाई खोज्दै अम्रहवा गाउँ पुगेका थिए । जनता संग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम भएकोले बिदाका दिन पनि आफुहरु काममा खटेको स्वास्थ्यकर्मीहरुको भनाइ थियो । डुडुवा ४ मा हेल्थ असिस्टेन्ट शैलेन्द्र शर्मा, अनमी सिमा घर्तिमगर खान र ल्याब असिस्टेन्ट लक्ष्मी पुनले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्दै आएका छन् ।
