काठमाडौं : नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट झण्डै ५ किलो सुन जस्तो पदार्थ सहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेकोमा सो पदार्थ सुन नै भएको पुष्टि भएको छ।
यसअघि अर्धठोस (पेष्ट) स्वरूपमा ५ किलो सुन जस्तो पदार्थ सहित चिनियाँ नागरिक झाङ लि पकाउ परेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएकाे थियो।
विमानस्थल भन्सार कार्यालयको चेकजाँचलाई छली अगाडि बढेको अवस्थामा शंका लागेपछि प्रहरीको सहयोगमा चेकजाँच गर्दा उनलाई करिब ४ केजी ८४० ग्राम सुनसहित पक्राउ गरेकाे भन्सार प्रमुख महेश भट्टराईले जानकारी दिए।
लि शनिबार बिहान साढे ९ बजे हिमालयन एयरलाइन्सको उडान नं एच ९५६६ मार्फत दुबईबाट काठमाडौं आएका थिए। सुनलाई पेष्ट बनाएर त्यसमा केमिकलको प्रयोग गरी शरीरमा लुकाएर ल्याइएको अवस्थामा शंका लागेपछि उनलाई नियन्त्रणमा लिइएको भट्टराईले बताए।
