पोखरा विमानस्थल ५ महिनाभित्रमा सञ्चालनमा आउँछ : मन्त्री आले


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबको पाँच महिनाभित्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताउनुभएको छ ।

पोखरामा आज बुधवार फेवा महोत्सवको उद्घाटन गर्दै उहाँले विमानस्थलको ९५ प्रतिशत कम सकिएको जानकारी गराउँदै विमानस्थल सञ्चालनका लागि अवरोधका रूपमा रहेको रिट्ठेपानी डाँडा काट्ने काम फास्ट ट्र्याकमा अगाडि बढ्ने बताउनुभयो । ‘क्यान (नेपाल नागरिक उड्डयन प्राधिकरण) सँग सल्लाह गरेर डाँडा काट्ने काम छिटै अगाडि बढाउँछु’, मन्त्री आलेले भन्नुभयो ।

कार्यक्रममा उहाँले पोखरा विमानस्थल नजिकै रहेको ल्यान्डफिल साइट नयाँ ठाउँमा व्यवस्था गर्न पोखरा महानगरपालिकालाई आग्रह गर्नुभयो । ल्यान्डफिल साइट सार्ने काम छिटो गरे विमानस्थल समयमै सञ्चालनमा ल्याउन सजिलो हुने मन्त्री आलेको भनाइ थियो । लेकसाइडमा रहेको रत्न मन्दिर र हिमागृह वैशाखभित्र सञ्चालनमा ल्याइने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कोभिड– १९ सँगै पर्यटन र खासगरी होटल क्षेत्र निकै मारमा परेको आफूले महसुस गरेको भन्दै मन्त्री आलेले यही बेला अर्थतन्त्रसमेत धराशायी बन्दै जानु दुःखद भएको बताउनुभयो ।

पोखराको पर्यटन बसपार्क औपचारिक रूपमा सञ्चालनमा ल्याउन निर्देशन दिँदै उहाँले पोखरामा सम्पन्न हुन लागेको एड्भेञ्चर टुरिजम मार्टका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने विषयलाई आउँदो बजेटअघिको नीति तथा कार्यक्रममा समेट्ने पनि उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *