गठबन्धन हितकर छैन, भुईँमा खसेको टिप्न खोज्दा पोल्टाको पोखिने डर : गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन र निर्वाचनअघि भएको तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका छन्।

नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदै छैन भन्ने मेरो आफ्नो मत हो। तर, पार्टीको निर्णय मानेको छु। मान्नुपर्छ। यो विषयमा बहस गर्नै पर्छ।’

यस्तै उनले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको स्थानीय पार्टी कमिटीमा सहमती जुट्न नसके सो ठाउँमा तालमेल नहुने बताएका छन्। ​थापाले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई नै भएको पनि बताए।

स्थानीय पार्टी कमिटीले तालमेल नगर्ने भनेमा माथिल्लो तहले तालमेलको निर्णय नथोपर्ने उनको भनाइ छ। महामन्त्री थापाले व्यक्तिगत रुपमा आफु तालमेलको पक्षमा नरहेको भएपनि पार्टीले गरेको निर्णय मानेको पनि बताए। उनले भने, ‘स्थानीय पार्टीका नेताहरुले ठिक छ भनेर भन्नुभयो हुन्छ। यहाँका साथीहरुले हुँदैन भनेर भन्दैगर्दा त्यो भन्दा माथिकोले तालमेल गर्नुपर्छ भनेर थोपर्न पाउँदैन। त्यो थोपरेको कुरालाई तल कसैले मान्दा पनि मान्दैन किनभने हामीले अहिले भुँइमा खसेको टिप्छु भन्दैगर्दा पोल्टाको पोखिने डर हुन्छ। हामीले पहिले आफ्नो घर सम्हाल्नुपर्छ।’

महामन्त्री थापाले नेपाली कांग्रेस पार्टीभित्र बृहत्तर एकता कायम गर्नुपर्ने बताए। निर्वाचनमा को उठ्दा जित्छ उसैलाई उठाउनुपर्ने उनको भनाइ छ। पार्टीले उम्मेदवारको सम्बन्धमा गरेको निर्णय सबै नेता, कार्यकर्ताले मान्नुपर्ने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *