गठबन्धन गर्न केन्द्रले दबाब दिँदैन, आवश्यकताअनुसार गर्नुस् : गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नुपर्छ भनेर केन्द्रले निर्णय नलाद्ने बताएका छन्।

पाँच दलीय गठबन्धनलाई तल्लो तहसम्म लाने गृहकार्य भइरहेको बेलामा महामन्त्री थापाले तल्लो तहको निर्णयमै निर्भर रहने बताएका हुन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘स्थानीय तहले आफ्नो अवस्था र आवश्यकतालाई हेरेर गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न र नगर्ने निर्णय गर्न सक्नुहुन्छ। तर, यसको निर्णय माथि पार्टी सभापतिले वा हामी माथिकाले गर्ने होइन, यसको निर्णय गर्न अधिकार तल्लो कमिटीकै हुन्छ।’

गठबन्धनको विषयलाई लिएर पार्टीभित्र लामो छलफल चलेको समेत उनले बताए। पार्टीभित्र छलफलको क्रममा पार्टीभित्र फरक फरक धारणा आएको उनको भनाई छ।

महामन्त्री थापाले भने, ‘केही साथीहरुको धारणा थियो नेपाली कांग्रेस एक्लै आफ्नो तागतमा चुनाव लड्नुपर्छ। तर कम्युनिष्ट पार्टीको बीचमा चुनावी तालमेल हुने र मौका पर्दा पार्टी नै एक बनाइदिने हामीले देखिसक्यौँ, त्यसैले त्यसलाई रोक्न गठबन्धन जोगाउनुपर्छ भन्नेमा बहुमत रह्यो।’

तर, उनले आफू अझै गठबन्धनको विपक्षमा रहेको समेत प्रष्ट पारे।

‘पाटीको बैठकमा पनि म लगायत केही साथीहरुले बरु केही समय क्षति बेहोर्नुपरे पनि बेहोरौँला तर कांग्रेसले एक्लै लड्नुपर्छ भनेका थियौँ’ महामन्त्री थापाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *