लेते वरपरको मौसम निकै बिग्रियो, जहाज खोज्न समस्या छ : प्रहरी


पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाजको खोजी गर्न समस्या भएको छ । खराब मौसमका कारण जहाज खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार जहाजले अन्तिम पटक लेतेको डाँडाबाट जोमसोम विमानस्थलको टावरसँग सम्पर्क गरेको थियो । त्यसपछि सम्पर्क नभएकाले जहाज लेते वरपरका डाँडा र विशेषगरी लार्जुङ खोँचमा दुर्घटना भएको शङ्कामा प्रहरीले खोजी थालेको हो ।

‘लेते वरपरको मौसम निकै बिग्रिएको छ, हामीले जहाज दुर्घटना भएको शङ्का गरेका छौँ, त्यही वरपरकै मौसम पूरै धुम्म छ, हेलिकप्टर उडाउन सक्ने अवस्था छैन, त्यसैले समस्या भयो’, तामाङले भन्नुभयो ।

हेलिकप्टर उडाउन समस्या भए पनि मुस्ताङका प्रहरी, व्यवसायी, स्थानीयवासी पैदलै हिँडेर भए पनि खोजीको प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । जहाजमा चालक दलसहित २२ जना यात्रु रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *