नेकपा एमालेका सांसद एवं पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले सरकारले अमेरिकालाई एसपिपी कार्यक्रममा भाग नलिने भनेर लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन्।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद रावलले सरकारले एसपिपीका सम्बन्धमा अमेरिकी सरकारलाई पठाएको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका हुन्। उनले सरकारले पठाएको पत्र जनताले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने बताए।
सांसद रावलले सरकारले अमेरिकी राज्य साझेदारी कार्यक्रम स्टेट पार्टनरसीप प्रोग्राम लागू गर्न खोजेको तर देशव्यापी विरोधपछि रोकिएको दाबी गरे। उनले अहिलेको गठबन्धन सरकारले बाह्य हस्तक्षेपलाई खुला छाडेको पनि आरोप लगाए। सांसद रावलले नेपालको अर्थतन्त्र, कृषि र मुलुकको सुरक्षामा देखिएको बाह्य हस्तक्षेप बढ्दै गए नेपालीहरुले दैनिकी कष्टकर र पीडादायी हुने बताए।
उनले ७ भन्दा बढी देशका शरणार्थी नेपाल आएर आन्दोलन गर्दासम्म कानमा तेल हालेर बसेको आरोप लगाए। सांसद रावलले सरकार र गठबन्धन दलहरु कुन मन्त्री कति महिना बनाउने र फेर्ने भन्नेमा मात्रै केन्द्रित रहेको भन्दै देशको राष्ट्रियतामा असर पर्ने कुराहरु के–के हुँदैछन् भन्ने कुरामा प्रधानमन्त्रीसमेत चिन्तित नरहेको आरोप लगाए।
सांसद रावलले सरकारले अमेरिकालाई एसपिपी लागू नगर्ने भनेर पत्र नै नपठाएको आरोप लगाए। उनले सरकारका मन्त्रीहरुले संसदमा जानकारी दिएपनि पत्र भने नपठाएको दाबी गरे। सांसद रावलले एसपिपी सम्बन्धमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति र राज्यका नीति सिद्धान्तको अनुगमन सम्बन्ध समितिले समेत दस्तावेज माग गर्दा अहिलेसम्म दस्तावेजहरु सरकारले नबुझाएको बताए।
उनले नेपालको परराष्ट्र नीतिलाई मिच्ने, मनपरी निर्णय गर्ने, कुटनीतिक रुपमा पत्राचार गर्ने निकायले पत्राचार गर्ने र ठूला शक्ति राष्ट्रहरुका अगाडि झुकेर संविधानको प्रावधानलाई कार्यान्वयन नगर्ने प्रधानमन्त्रीको चरित्रका कारण परराष्ट्र नीति र कुटनीतिमा गम्भीर विचलन देखा परेको आरोप लगाए।
