रास्वपाको सत्तामोह : राष्ट्रपतिबारे मौन, सरकारमा जान छिनाझम्टी


गत पुस १० गतेको सहमतिविपरीत नयाँ गठबन्धन बने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले मौनता साँधिरहेको छ। पुरानो ५ दलीय गठबन्धन तोडेर गत फागुन १२ गते आठ दलीय गठबन्धन बिउँतिए पनि रास्वपा मौन छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन।

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय उठान गर्दै नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्त पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी मिलाएर ८ दलीय गठबन्धन बिउँताएसँगै सत्ता समीकरण नै बदलिएको छ।

पुस १० गते बनेको गठबन्धनमा आबद्ध दलमध्ये नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएका छन्। राजसंस्थाको एजेण्डा बोकेको दल नयाँ गठबन्धन बनेको भोलिपल्टै राजनीतिक निर्णय गरेर सरकारबाट बाहिरिसकेको छ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा मिसिएका छन् तर दल खुलेको सात महिनामै अप्रत्याशित मत पाएको रास्वपा राजनीतिक निर्णयमा आनाकानी गरिरहेको छ।

रास्वपा न ८ दलीय गठबन्धनमा सहभागी छ न त पुरानो गठबन्धनमा नै। यद्यपि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ। रास्वपाले किन परिपक्क निर्णय गर्न सकेन? भनेर प्रश्न उठिरहेका छन्।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ दलहरूसँग संवाद गरिरहेकाले चाँडै निष्कर्षमा पुग्ने बताए। उनले जनतासँग गरेका वाचा पूरा गर्न सरकारसँग सहकार्य आवश्यक भएकाले छलफल भइरहेको बताए।

‘हामीले निर्वाचनका वेला जनतासँग गरेका वाचा पूरा गर्न सरकारसँग सहकार्य गर्नुपर्छ। परिस्थितिलाई नजिकबाट नियालिरहेका छौं। सत्तारुढ दलहरूसँग संवाद भइरहेको छ’‚ परियारले भने।

‘यसको अर्थ तपाईंहरू परिस्थितिलाई मूल्यांकन गरेर सरकारमा सहभागी पनि हुन सक्नुहुन्छ?’‚ भन्ने प्रश्नमा उनले भने, ‘परिस्थिति मिले आठदलीय गठबन्धनमा सहभागी हुन सकिन्छ तर यसबारे पार्टीले औपचारिक निर्णय गर्नेछ।’

रास्वपा महामन्त्री डा. मुकुल ढकाल सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता लिनु आफूहरूका लागि बाध्यता नभएको बताउँछन्। उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री कायम रहेकाले परिस्थिति फरक नभएको दाबी गरे।

‘हाम्रा लागि परिस्थिति बदलिसकेको छैन। साझा न्यूनतम कार्यक्रम छन्। त्यो पूरा गर्न प्रधानमन्त्रीज्यू कति प्रतिबद्ध हुनुहुन्छ। उहाँले नै ल्याएको न्यूनतम साझा कार्यक्रममा हाम्रा पनि एजेण्डा समावेश छन्’‚ महामन्त्री ढकालले भने, ‘सरकारमा जानै नहुने भन्ने होइन तर पार्टीभित्र छलफल गरेर टुंगो लगाउँछौं। अहिले हामी संगठन निर्माण र चितवन–२ को उपनिर्वाचनमा केन्द्रित छौँ।’

रास्वपा स्रोतका अनुसार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आठ दलीय गठबन्धनमा मिसिन प्रस्ताव गरिरहेका छन्।

‘उहाँहरूले नयाँ समीकरणमा मिसिन प्रस्ताव गरिरहनु भएको छ। ९ दल मिलेर राजनीतिक स्थायित्व दिऔं भनेर प्रस्ताव आएको छ। हामीले दलभित्र बसेर छलफल गर्छौं भन्ने जवाफ दिएका छौं’‚ रास्वपाका एक सांसदले थाहाखबरसँग भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *