नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शपथग्रहण


नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन्।

सोमबार दिउँसो राष्ट्रपतिको कार्यालयमा एक भव्‍य समारोहबीच उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्। शपथ समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष तथा अन्य विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।

हाल प्रधानन्यायाधीश पद रिक्त रहेकाले नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश कार्कीले शपथ गराएका हुन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ। संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ।

नयाँ राष्ट्रपतिको शपथसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवास छाड्नेछिन्। उनी आजै आफ्नो निजी निवास बूढानिलकण्ठ सर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *