सरकारले सधैँ भत्ता दिन सक्दैन : अर्थसचिव


अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका छन्।

आर्थिक पत्रकार संघसँगको भेटमा अर्थसचिव रायले वर्षेनी साधारण खर्च बढ्दै गएको र लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने भन्दै राज्यले सामाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका हुन्।

उनले रोजगारीमा आबद्ध भएका हरेक नागरिक अनिवार्य समाजिक सुरक्षा कोषमा आवद्ध हुन जरुरी रहेको बताए।

उनले सरकारले अर्बौं रुपैयाँ बिना योगदान सामाजिक सुरक्षा भत्ताको रुपमा लामो समयसम्म दिन सक्ने अवस्था नभएको बताए। उनले सरकारले वार्षिक रुपमा करिब एक सय अर्ब बढी रकम सामाजिक सुरक्षा भत्तामा मात्रै खर्च गर्ने गरेको भन्दै राज्यकोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक रहेको बताए।

उनले भने, ‘अब सरकारले लामो समयसम्म सामाजिक सुरक्षा भत्ता भनेर कुनै पनि योगदान बिना सामाजिक सुरक्षा भत्ता जारी राख्ने अवस्थामा छैन। अहिले पनि सरकारले एक सय अर्बभन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा लगानी गर्दैछौं। यसरी अर्बौं रुपैयाँ कुनै योगदान बिना सामाजिक सुरक्षा भत्ता दिन सरकारलाई गाह्रो हुन्छ।’

सचिव रायले वर्तमान अवस्थामा देशमा राजस्व संकलनको अवस्था जटिल रहेको भन्दै राजश्व चुहावटको विषयमा सरकारले माफी दिन नसक्ने बताए। उनले १७ सय किलोमिटर खुला सीमा रहेकाले १५ वर्षमा १८ प्रतिशतसम्म राजस्व चुहावट वृद्धि भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *