कर्णालीका संसदको काम विश्वासको मत दिने मात्रै, सभामुख, उपसभामुखको दिनचर्या भ्रमणमै व्यस्त


कर्णाली प्रदेश सभामा नयाँ आएका सांसदहरुले सदनमा आवाज उठाउने बाहेक कर्णाली प्रदेश सरकारलाई लगाम लगाउने संसदीय समितिको अनुभव हासिल गर्न सकेका छैनन् ।

यसअघिको पाँच वर्षे कार्यकालमा दोहोरिएका काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, एमाले संसदीय दलका नेता यामलाल कंडेल, माओवादी नेता विन्दमान विष्ट र माओवादीकै नेता विरबहादुर शाही बाहेक ४० सदस्यीय प्रदेश सभामा अरु सबै नयाँ अनुहारका आएका हुन ।

नयाँ अनुहारका सांसदबाट कर्णालीका नागरिकले खासै ‘नयाँ’ कुराको स्वाद भने हालसम्म पनि पाएका छैनन् । विगतको तुलनामा नयाँ आएका सांसद देखि मुख्यमन्त्री सम्मको ‘पर्फमेन्स’ सत्ता फेरबदल देखि विश्वासको मत लिने प्रक्रियामै अल्झिएको छ ।

रोचक कुरा के भने, यसपटकका नयाँ सांसदले कर्णालीको प्रतिपक्ष यहाँको अभाव र गरिबी भनेर भनेका छैनन् । उनिहरु कर्णाली सक्षम छ भन्नेतिर केन्द्रीत भएपनि आफ्ना दलका नेता सामू निरीह बन्न थालेका छन् ।

उदाहरणको लागि, कर्णाली प्रदेश सरकारमा एमालेको तर्फबाट विनोद कुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री बने, तर उनले आफ्नै दलका सांसदलाई ‘देखाइदिने’ गरि बजेट आफ्नो र स्वकीयको वडामा मात्र केन्द्रीत गरे ।

त्यति मात्रै होइन, उनले रातो कलम प्रयोग गरेर योजनाको व्यक्तिगत नाममा भागवण्डा समेत गराए । काँग्रेस निर्वाचित पालिकामा पूर्वाधार विकास कार्यालय दैलेख मार्फत बजेट पठाए भने एमाले निर्वाचित पालिकामा नगरपालिकामा पैसा पठाए ।

भन्न खोजेको मन्त्रीले जे चाहन्छ त्यहि हुन्छ भन्ने नै हो । उनि राजाको पालामा जलस्रोत मन्त्रीसमेत भएका व्यक्ति हुन । यस्तै कारणले कर्णाली प्रदेश सभा अनिर्णित बन्न पुगेको छ ।

सभामुख र उपसभामुखको काम भनेकै ‘भ्रमण’ गर्ने देखिएको छ । प्रदेश सभा सचिवको म्याद अन्तिम चरणमा रहेकोले प्रदेश सभा सचिव जीवराज बुढाथोकी भने उनिहरुलाई ‘खुशी’ पार्न उद्यत देखिएका छन् ।

न उनलाई संसदीय कार्यमा रुचि देखियो भने न उनलाई प्रदेश सभाका समितिलाई पूर्णता दिन कुनै अग्रसरता दिनेमा रुचि देखियो । फलस्वरुप संसद नियमावली विपरित ‘वेवास्ता’ गरिएको देखिएको छ ।

उनलाई तत्कालिन सभामुख राजबहादुर शाहीले प्रदेश सचिवको रुपमा भित्र्याएका थिए, कारण उनिसँग संसदीय मामिला बारेमा ज्ञान थियो । प्रदेश सभामा उनले कुनै गल्ती त गरेनन्, तर अब कार्यकाल सकिन झण्डै १० महिना वाँकी रहँदा उनमा यो समस्या देखा परेको हो । उनले नयाँ सभामुख र उपसभामुखलाई ‘अनुभव आदान प्रदान’ नाममा तीन ओटा प्रदेशको भ्रमण गराइसकेका छन् तर एमाले कोटामा सभामुख बनेकी नन्दा गुरुङ्ग र माओवादी कोटामा उपसभामुख बनेकी यशोदा न्यौपाने ‘घुम्ने’ शीर्षक आउँदा हुरुक्कै हुने गरेको पाइएको छ ।

‘उहाँहरुले भ्रमण भन्दा पनि समिति पूर्णता दिने देखि सचिवालय व्यवस्थापनमा ध्यान दिनु पथ्र्यो । सरकारलाई आवश्यक निर्देशन दिएर सरकारलाई पारदर्शी बनाउने बाटोमा लाग्नुपथ्र्यो ।’ सचिवालयका एक कर्मचारी भन्छन्, ‘तर प्रदेश सभामा नभएको बजेट व्यवस्थापन गरेर उनिहरु राज्यको पैसा सकाउने र घुमघाम गर्ने रणनीतिमा पुगेका छन् ।’ सभामुख, उपसभामुख र सचिवको ‘घुमन्ते’ आनीवानीले कर्णाली प्रदेश सरकार भने ‘मनलाग्दी’ तरिकाले अघि बढन उद्यत देखिएको छ ।

प्रदेश सरकार बनाउने, फेरबदल गर्ने देखि प्रदेश सरकारलाई निर्देशन दिएर सहि मार्गमा हिडन सिकाउने कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन खेर गएको अधिकांशको भनाई छ । ‘नयाँ सांसद आएको हामीलाई महसुस नै भएन ।’ वीरेन्द्रनगर ७ का सिर्जन बडुवाल भन्छन्, ‘राजनीति यस्तै रहेछ । मन लाग्यो बोल्ने, मन लागेन नबोल्ने ।’

facebook sharing button Sharetwitter sharing button Tweetpinterest sharing button Pinemail sharing button Emailsharethis sharing button Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *