सल्यानको कपुरकोट गाउँपालिका–३ फलाटेमा दुई घरमा आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ।
बिजुलीको तार सट हुँदा फलाटेका ५५ वर्षीय सेते डाँगीको घर र ३५ वर्षीय कृष्ण खत्रीको गोठ जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
डाँगीको फुसले छाएको दुई कोठे घर र खत्रीको गोठ पूरै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।
मानवीय क्षति नभए पनि घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको उनको भनाइ छ। स्थानीय र प्रहरीको समन्वयमा घरमा लागेको आगो अहिले नियन्त्रणमा आएको खनालले बताए।
गर्मी बढेसँगै सल्यानमा आगलागीका घटना बढ्दै जान थालेका छन्।
