राजनीतिक दलहरूलाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन


निर्वाचन आयोगले राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन जारी गरेको छ। आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम गर्न गराउन दलहरुलाई निर्देशन दिएको हो।

आयोगको आज (बिहीवार) बसेको बैठकले दलको केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएका व्यक्तिको सम्पत्ति विवरण माग्न निर्देशन दिएको छ।

आयोगले पदाधिकारी र समिति सदस्यमा निर्वाचित व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चल तथा अचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालयसमक्ष पेश गर्ने र दलले त्यसको अभिलेख राखी पेश गर्नुपर्नेछ।

सम्पत्ति विवरण पेश नगर्ने पदाधिकारी र सदस्यको नाम त्यसरी सम्पत्ति विवरण पेश गर्नुपर्ने अवधि नाघेको एक महिनाभित्र प्रकाशन गरी सोको जानकारी आयोगमा पठाउन निर्देशनमा भनिएको छ।

दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिह्नमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी पनि ३० दिनभित्र आयोगलाई दिनुपर्ने निर्देशनमा उल्लेख छ।

आयोगले दलहरूलाई आफ्नो आय र व्ययको वास्तविक हिसाबकिताब देखिने गरी बैंकमार्फत कारोबार गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *