नेपाल फेरि अर्को अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा उपविजेतामै सीमित


अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। बुधबार दशरथ रंगशाला भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा घरेलु टोली नेपालले फिफा वरीयतामा आफूभन्दा ४८ स्थानमाथिको म्यानमारसँग २-० गोलको हार बेहोर्दा अर्को फाइनलमा पनि उपविजेतामा चित्त बुझाउनु परेको हो।

यससँगै नेपालले औपचारिक र अनौपचारिक प्रतियोगिता गरी १३ वटा फाइनलमा हार बेहोर्ने नमिठो यथार्थ आत्मसात गर्नपर्‍यो। नेपालले सन् २०१० यता छ वटा महिला साफ च्याम्पियनसिप, तीन वटा साग गेम्स, एक वाफ विमेन्स च्याम्पियनसिप र अन्य तीन वटा अनौपचारिक प्रतियोगिताको फाइनलमा स्थान बनाए पनि उपाधि भने जित्न सकेको छैन। बुधबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको दुई मिनेटको अन्तरमा दुई गोल खाएको थियो।

खेलको ६२ मिनेटमा म्यानमारले अग्रता लिएको थियो। उसका लागि नो पो खिनले गोल गर्दै दशरथ रंगशालामा उपस्थित १५ हजार ५ सय बढी घरेलु दर्शकलाई स्तब्ध पारिन्। उनले डिबक्स नजिकबाट बल कुदाएर दोस्रो बार च्याप्दै बललाई जाली चुमाउँदा नेपाल दर्शक शान्त हुन बाध्य भए।

दुई मिनेटपछि म्यानमारले अग्रता दोब्बर पार्‍यो। म्यानमारकी कप्तान विन तुनले डिबक्स नजिकबाट हानेको प्रहार नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको खुट्टामा लागेर गोल भयो। नेपालकी डिफेन्डर गीता रानाले एन्जिलाको खुट्टाबाट फुत्किएको बल रोक्ने प्रयास गरे पनि सफल हुन सकिनन्।

नेपाल र म्यानमार दुवैले लिग चरणमा लेबनान र किर्गिस्तानलाई पराजित गरेर फाइनलमा स्थान बनाएका थिए।नेपालले यो प्रतियोगिता महिला एसिया कप र फिफा विश्वकप छनोटको तयारीका लागि आयोजना गरेको हो। आगामी जुनमा नेपालले छनोट खेल्दैछ। छनोटको समूहमा शीर्ष बन्न सके नेपाल एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *