काठमाडौं । नेपाल एथलेटिक्स संघको अध्यक्षमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह निर्विरोध निर्वाचित भएका छन ।
बुधबार काठमाडौंमा सम्पन्न भएको चुनावी साधारण सभाले मन्त्री शाहको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको हो । उपाध्यक्षमा कोमल वली, जगतिसंह धामी, शैलेन्द्र खनाल, सन्तोषकुमार ढकाल, तेजेन्द्र थापा र गजबहादुर गुरुङ रहेका छन् ।
आरके विष्ट (राधाकृष्ण) सचिव तथा मोहनबहादुर घले कोषाध्यक्षमा चुनिए । सञ्जीव तुलाधर, अन्जु चौधरी, दिलबहादुर बम, नन्दु काउचा, अनिरुदैकुमार चौधरी, मोहम्मद ज्याउल हक, शिवलाल आचार्य र पद्मा चौधरी सदस्यमा चयन भएका छन ।

सदस्यमा निर्वाचित तुलाधरलाई नवनिर्वाचित अध्यक्ष शाहले पछि कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने गरी महासचिवमा मनोनीत गरेको घोषणा गरेका हुन ।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
त्यसअघि ताहचलस्थित ग्रान्ड होटलमा भएको साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका आयाेजकले जनाएको छ।
