नयाँ पार्टीहरू मुलुकमा अराजकता फैलाउन उद्यत छन् : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै भवितव्यले खुलेका पार्टीहरू देशमा अराजकता फैलाउन उद्यत रहेको टिप्पणी गरेका छन्।

शुक्रवार मधेश प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई जनकपुरमा सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। केही पार्टीहरूले आफूलाई नयाँ भन्दै जनतामा भ्रम फैलाइरहेको उल्लेख गर्दै यसतर्फ नागरिक सचेत हुनुपर्ने तर्क गरे।

उनले मुलुकको शान्ति व्यवस्था खलबल्याउन तथा देशलाई प्रतिगमनतिर लैजान समेत प्रतिगामी तत्वहरू सक्रिय रहेको उल्लेख गरे। विगतमा भएका राजनीतिक घटनाको स्मरण गर्दै उनले केही शक्ति त्यस्तै घटना दोहोर्‍याउने हेतुले राजतन्त्र फर्काउने अभियानमा लागिरहेको टिप्पणी गरे।

उनले नेपाली नागरिकलाई सुखी र मुलुकलाई समृद्ध बनाउन ढिला भइसकेकाले नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने आजको आवश्यकता भएको बताए।

ओलीले भने, ‘नेपाली नागरिकलाई सुखी र देशलाई समृद्ध बनाउन हामीले नयाँ ढंगले, नयाँ तरिकाले, नयाँ संकल्पका साथ अघि बढ्न ढिला भइसक्या छ। कानून, संवादबाट हुने कुरामा जोरजुलुम गरिने परिपाटी अन्त्य गरिनुपर्छ। अँध्यारा दिन फर्काउन केही तत्त्व लागिरहेका छन्। केही तत्त्व देशमा अराजकता फैलाउन कुदिरहेका छन्। आमजनतालाई नयाँ शक्ति हौँ भनेर भ्रममा पारिराखेका छन्। भवितव्यले खुलेका पार्टी नयाँ त हुने नै भए।’

ओलीले कानून र संवादको माध्यमबाट निष्कर्षमा पुगिने कुरामा जोरजुलुम गर्ने परिपाटी अन्त्य गरिनुपर्ने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *