भिजिट भिसा प्रकरणमा छानबिन नभए सडक आन्दोलन गर्ने चेतावनी


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।

आइतवार झापामा सञ्चारकर्मीमाझ उनले आफूले उक्त माग सम्बोधन नभएसम्म निरन्तर संसद् अवरुद्ध गर्ने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित आफ्नो पार्टी सडक आन्दोलनमा जाने चेतावनी दिएका हुन्। अध्यक्ष लिङदेनले आफूहरूले सदन अवरुद्ध गरे पनि त्यसलाई बेवास्ता गर्ने र अघि बढाउने काम गरेको भन्दै सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे।

आफूहरूको मागलाई सरकारले पनि उपेक्षा गरेको भन्दै उनले आक्रोश व्यक्त गरे। अध्यक्ष लिङदेनले उक्त प्रकरणमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर सहजता प्रदान गर्नुपर्ने पनि दोहोर्‍याए।

​लिङ्देनले भने, ‘भिजिट भिसा गृहमन्त्रीले राजीनामा दिएर सहयोग गर्नुहुन्न भने पनि छानबिन आयोग त गठन हुनुपर्‍यो। दोषी ठहरिए उहाँ कारबाहीमा परिहाल्नु हुन्छ भन्दा पनि नसुनेर जुन ढंगले सभामुखले संसद् अगाडि बढाइ राख्नुभएको छ। आगामी दिनमा नेपाली जनताले यसको मूल्यांकन गर्नेछ। हामी कम्तीमा पनि यो सेसनमा यसरी नै निरन्तर विरोधमा रहन्छौं। आवश्यक परे दुईवटा पार्टी सडकमा आउनसक्ने अवस्था पनि हुन्छ।’

उनले पार्टीमा नयाँ साथीहरूलाई जिम्मेवारी दिने क्रममा गल्ती भए सच्चिएर अघि बढ्न तयार रहेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *