गत फागुन २७ गते घरमा डोजर चलाएर त्रिपालमुनि पुर्याइएका सुकुमबासीलाई झापाकाे दमक नगरपालिकाले त्रिपालबाट पनि हटाउने प्रयास गरेको छ । दमक ७ स्थित पञ्चमुखी टोलका सात घर सुकुमबासीले त्रिपाल लगाएर बनाएको टहरा सोमबार भत्काउने प्रयास गरेको हो ।

कोरोना महामारीले भोकै भएका सुकुमबासीमाथि बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी खटाएर सुकुमबासीमाथि हातपात गर्दै त्यहाँबाट पनि हटाउन खोजेको हो । सोमबार बिहान प्रहरी पुगेर उनीहरूले बनाएको त्रिपालको टहरा भत्काउने प्रयास गरेको थियो । त्यो क्रममा प्रतिकार गर्दा प्रहरीले सुकुमबासीमाथि हातपात गर्यो । प्रतिकार गर्ने क्रममा सुकुमबासी कोपिला विश्वकर्मालाई महिला प्रहरीले कपालमा समाएर बेहोस बनाएको सुकुमबासी मनीष बराइलीले जानकारी दिए । ‘उहाँहरू त्रिपाल उठाएर लान आउनुभयो । यस्तो वेलामा हामी कहाँ जाने ? दिदी (कोपिला)ले यस्तो वेलामा टहरा नभत्काइदिनु भन्नुभयो,’ उनी भन्छन्, ‘एकजना महिला प्रहरीले कपालमा तानेर घुमाएको घुमाई गर्नुभयो । दिदी बेहोस हुनुभयो ।’ बेहोस भएपछि र सुकुमबासीले विरोध गरेपछि प्रहरी टहरा नभत्काई फर्कियो ।
