
यो भनाइ २००७ सालको क्रान्ति देखि लामो समय सम्म डोटी क्षेत्रमा कसैलाई गाली गर्नु पर्दा, कसैको कुभलो व्यक्त गर्दा, कसैलाइ दुःख दिने भावमा भन्ने गरिएको वाक्यांश हो । गौरीलाल सल्ल्यान थाङन्याखोलाका कवर हुन । उनका पू्र्खा ओली हुन । ६ पुस्ता अगि कुनै संस्कार गर्दा शास्त्रीय मान्यता बिपरित हुन गएकोले उनका पू्र्खा ओलीबाट कवर ९ जोगी० भएका थिए । २००७ सालको क्रान्तिताका उनी सक्रिय योद्धा थिए । गौरीलालको कार्यक्षेत्र डोटीमा उनलाई लप्टनको जिम्मेवारी दिएको थियो ।
डोटीमा त्यसबखत राणा कालिन बडाहाकिम सप्तरीका महिकर नारायण देव सिंह थारु थिए । उनी पूर्वमहान्यायाधिवक्ता रमानन्द प्रसाद सिंहका पिता थिए । स्थानीय भनाइ अनुसार लप्टन गौरीलाल र बडाहाकिम महिकर दुवै उग्र र झक्कड स्वभावका थिए । क्रान्तिको समय अरु ठाउ जस्तै डोटी क्षेत्रमा पनि व्यापक लूटपाट र आतंक मच्चिएको थियो ।

त्यही क्रममा गौरीलाल पक्राउ परे । पक्राउ परेकै अवस्थामा उनले बडाहाकिमलाइ हामीले डोटी कब्जा गरिसक्यौ त्यसैले अब तलाइ गोली ठोकेर मार्छु भने । बडाहाकिम पनि उस्तै । उनले तेरो बाबुको ताकत छ भने ल गोली ठोक भनेर छाती तेर्स्याइ दिए । त्यही मौकामा गौरीलालले बडाहाकिमको छातीमै गोली दागे । घाइते बडाहाकिमलाई गौरीलालले रूखमा बाधेर दुईवटा खुट्टा दुईवटा हात , एउटा निधार र अर्को छातीमा गरि छ वटा किला ठोकेर पुनः कयौ फायर गोली हानेर शरीर छियाछिया पारी बीभत्स किसिमले हत्या गरे ।
गौरीलालका सहयोगी स्थानीय नै थिए । यो घटनाले डोटी र वरपरको क्षेत्रमा मात्र होइन नेपालभरी चर्चा पायो । गौरीलाल र बर्बर आतंक एक अर्काका पर्याय भए । यही घटना पछि तेरा घरमा गौरीलाल पसोस भन्ने भनाइ त्यहा स्थापित भएको हो । त्यसपछि डोटी क्षेत्रमा एउटा गीतनै बन्यो । गीत थियो, केही मारे भीमदत्तले केही गौरीलालले, अझै पनि मर्ने छैनन् कोइ आफ्ना कालले । क्रान्ति पछि गौरीलाल सल्ल्यान फर्किए । बडाहाकिम मारेको घटनाले उनको राजनीतिमा प्रतिकुल प्रभाव पार्यो । उनी माथि उठ्न सकेनन । तर पनि उनी पश्चिम नेपालमा दन्त्यकथाका पात्र झै मानिन्थे । उनले सल्ल्यानको शारदा नदीमा पक्की काठको पुल बनाएका थिए, त्यो त्यस क्षेत्रकै पहिलो पुल थियो । त्यसबेला थाङन्याखोला पुल बान्ने गौरीलाल बोलको गीतनै प्रसिद्ध भएको थियो । त्यसपूर्व त्यस भेगका नदीनालामा लाप्का मात्र हुन्थे । उनले सामाजिक काम पनि गरे, मुद्दामामलामा पनि परे । पछि तिसको दशकको आरम्भ तिर उनको निधन भयो । आधुनिक इतिहासका उनी चर्चित पात्र हुन ।
