नरैनापुरका घरघरमा पेट्रोल बिक्री, असुरक्षित महाशुस गर्दे स्थानीय


बाँकेको नरैनापुर गाउँपालिकामा पेट्रोल पम्पको अभावले घरैपिच्छे पेट्रोल खरीद बिक्री हुने गरेको देखिएको छ । घरघरै ग्यालेनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ । यसले कारोवार र आम्दानी त राम्रै भएको छ । तर, यहाँका प्रत्येक घर असुरक्षित र अतिउच्च जोखिममा देखिएका छन् ।
अधिकांशले त बाँकेको सहरीक्षेत्रका पेट्रोल पम्पबाट ग्यालेनमा खरिद गरी लिएको पेट्रोल भारत निकासी समेत गर्ने गरेको नरैनापुरका प्रहरी नै बताउँछन । खुला सीमा र भारतमाभन्दा नेपालमा पेट्रोल केही सस्तो पर्ने भएकाले नरैनापुर क्षेत्रका अधिकांश युवा ग्यालेनमा पेट्रोल बोकेर भारततर्फ निकासी गर्दै आएका छन । केही हप्ता अघि यहाँको सशस्त्र प्रहरीले ३१ हजार लिटर भारत निकासी हुँदै गरेको अबैद्य पेट्रोल बरामद गरेको थियो ।

भर्खरै सडक विस्तार भएपछि यातायातका साधन बाक्लिँदै गएको नरैनापुर अहिले पनि बाँकेका अन्य स्थानीय तहको तुलनामा दुर्गम मानिदै आएको छ । यहाँ प्रयाप्त मात्रमा विकासका पूर्वाधार छैनन् । केही वडामा सोलार जडान गरिएको छ । सडक सञ्जालले जोडिएपछि यहाँ यातायात साधन बढेका छन् । तर, गाउँपालिकामै व्यवस्थित पेट्रोलपम्प छैन ।

गाउँमा सवारी साधन बढेसँगै तेलको माग हुन थालेपछि नरैनापुर–२ जेब्रिल खाँले पाँच वर्षदेखि घरमै पेट्रोल बेच्दै आएका थिए । तर, उनी आफैं भने सुरक्षित महशुस गर्न नपाएको बताउँछन् । ‘पेट्रोल राखिएको नजिकै ओछ्यान लगाएर सुत्छु’, उनले भने, ‘प्रायः त यहाँ पेट्रोल चोरी हुने गर्छ, बालबच्चाले भेटाएर आगो लगाइदेलान भन्ने डर पनि उत्तिकै हुन्छ ।’

उनका अनुसार चोरी हुन नदिन पेट्रोल छेउमै सुत्ने अधिकांश व्यापारी कसैले रिसले आगो लगाइदिने हो कि भन्ने त्रासमा पनि हुन्छन् । नरैनापुर–२ का श्रीस बाबा एक लिटर पेट्रोलमा १० देखि २० रुपैयाँसम्म नाफा देखेपछि यहाँका अधिकांश गाउँले पेट्रोल बिक्रीमा लागेको बताउछँन । आगोबाट जोगाउनु मुख्य चुनौती छ बाबाले भने, ‘ठूलै पम्प खोलेर व्यवस्थित रूपमा व्यापार गर्न लगानी छैन ।’ खुलेआम पेट्रोल बेच्नु सिङ्गो गाउँ नै असुरक्षित बनेको छ ।

खुला पेट्रोल व्यापारले आगलागीको खतरा रहेको नेपाल आयल निगम बाँकेका प्रमुख नवविनोद पोखरेल बताउँछन । नरैनापुरमा खुलेआम पेट्रोल बिक्री वितरण भइरहँदा स्थानीय तह र प्रहरी प्रशासनले रोकथामका लागि भने यस विषयमा चासो देखाएको छैनन् । प्रशासनले खुलेआम पेट्रोल बेच्नेलाई रोक लगाउन निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *