
काठमाडौंः नेकपा एमालेका नेता गोकर्ण विष्टले सर्वोच्च अदालतले दिने जुनसुकै फैसलालाई स्वीकार गर्ने गरी सहमति र एकता बनाउन सकिने बताउनुभएको छ ।पार्टी भित्रको आन्तरिक किचलो विभिन्न बहाना र रुपमा सर्वोच्च अदालत पुगेको भन्दै पार्टी एकताको लागि सर्वोच्च अदालतले दिने फैसलालाई सबैले स्वीकार गर्ने सहमति बनाउन सकिने स्पष्ट पार्नुभयो । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता विष्टले दुवै पक्षका नेताहरुले आफ्नो व्यक्तिगत इगो, मैले गरेको सहि भन्ने अडान त्याग्नुपर्ने बताउनुभयो । संवादको क्रममा नेता विष्टले प्रतिनिधि सभा विघटन गर्ने पक्षले आफ्नो निर्णय फिर्ता लिन अप्ठेरो हुने र प्रधानमन्त्रीविरुद्ध अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरुलाई पनि हस्ताक्षर फिर्ता लिन सजिलो नहुने अवस्थामा सर्वोच्च अदालतले जे फैसला दिन्छ यसैलाई मानेर अगाडी बढ्ने एकताको बाटोमा आउन सकिने उपाय हुने बताउनुभयो । पार्टीभित्र देखिएको व्यक्ति व्यक्ति वीचको टसलले, अडानको कारणले पार्टीलाई नै समाप्त पार्ने दिशामा लैजान नदिन पार्टी एकता र कम्युनिष्ट आन्दोलनविरुद्ध भएका सबै निर्णय खारेज गरेर पनि एकताको ढोका खोल्न सकिने नेता विष्टले तर्क गर्नुभयो ।
