
नेपालमा मनसुन सुरु भएपछि वर्षाका कारण उत्पन्न बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरूले राहत सामाग्री प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । राहत पुगेका स्थानमा आवास लगायतका विषयमा उचित प्रबन्ध हुन नसक्दा उनीहरूको चिन्ता घट्न सकेको छैन । सरकारी निकायहरूका अनुसार आगामी हप्ता आइतबार देखि बिहीवारसम्म ठूलो पानी परेर फेरि बाढी आउने र पहिरो जान सक्ने सम्भावना छ। निरन्तरको झरीका कारण नेपालका विभिन्न स्थानहरुमा बाढी पहिरोका कारण ठूलो जनधनको क्षती भएको छ । बाढीले घरगोठसँगै आफन्त पनि गुमाउनु परेकाले बाँचेकाहरुलाई यतिखेर सम्हालिन गाह्रो भएको छ । यसै क्रममा बाढीका कारण प्रभावित भएकाहरुलाई सहयोग वितरण गर्न नेपाली चलचित्रका कलाकारहरु पनि अगाडि सरेका छन् । नायिका पूजा शर्मा र श्वेता खड्काले पनि सिन्धुपाल्चोकका बाढी प्रभावितहरुका लागि सहयोग वितरण गर्ने तयारी गरेका छन् ।
