बैतडी : जंगली बँदेलको आक्रमणबाट बैतडीमा आज एकजना प्रहरी हवल्दार घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–४ घर भएका प्रहरी हवल्दार ३६ वर्षीय राम लुहार रहेका छन्।

महानगरीय प्रहरी कार्यालय काठमाडौं रानीपोखरीमा कार्यरत रहेका राम घर बिदामा आएका बेला बँदेलले आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।
आइतबार बिहान घर नजिकैको मकैबारीमा काम गरिरहेका बेला रामलाई बँदेलले आक्रमण गरेको थियो। प्रहरी निरीक्षक ओझाका अनुसार आक्रमणबाट रामको हात र खुट्टामा चोट लागेको छ।
जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ। केही वर्षयता बैतडीमा जंगली बँदेलले आतंक मच्चाउने गरेको छ। बँदेलले मकैबाली नष्ट गर्नुका साथै मानिसलाईसमेत आक्रमण गर्न थालेपछि स्थानीय हैरान बनेका छन्।
यसअघि साउन २० गते बँदेलका लागि थापेको विद्युतीय धरापमा परेर सुर्नया गाउँपालिका–५ का दुई युवकको मृत्यु समेत भएको थियो।
