साउन २५ कीर्तिपुर नगरपालिका-९, नगाउँ स्थित आफू बस्दै आएको घर अगाडी पार्किङ गरी राखेको स्थानबाट हराएको बा ९४ प ७१६४ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप खाडादेवी गाउँपालिका – ७ घर भई हाल काठमाडैँ नारायणटार बस्ने वर्ष १८ को सुन्दर मगर र रामेछाप सुनापती गाउँपालिका २ घर भई नारायणटार नै बस्ने दिपक सिंजाली मगर रहेका छन् ।

चोरी भएको सुचना प्राप्त हुनासाथ महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालन गरी बिना चावी डाईरेक्ट स्टार्ट गरेर नम्वर प्लेटसमेत परिवर्तन गरी मोटरसाइकल चलाइरहेको अवस्थामा ती दुवैलाई भक्तपुर सुर्यविनायक नगरपालिका-९, पलासेबाट नियन्त्रणमा लिन सफल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए । उक्त मोटरसाइकल यही श्रावण २३ गते रातको समयमा काठमाडौँ कीर्तिपुर नगरपालिका-९, नगाउँबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि स्यांजा आधिखोला गाउँपालिका-५ घर भई हाल कीर्तिपुर बस्ने मुक्तिप्रसाद पौडेलले यस महाशाखामा निवेदन दिएका थिए । पक्राउ परेको मोटरसाइकलसहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागि प्रहरी वृत्त, कीर्तिपुरमा बुझाएको महाशाखाले जनाएको छ ।
पछिल्लो समय उपत्यकाको विभिन्न स्थानबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिको सूचना संकलन एवं निग्रानी राखी विशेष कारबाही अभियान ट्राफिक महाशाखाले निरन्तर रूपमा चलाइराखेको छ ।
