
संसदीय समितिले काठमाडौं–तराई÷मधेश दू्रतमार्ग अन्तरगत देखिएका जग्गाको मुआब्जासम्बन्धि विवाद छिट्टै समाधान गरिदिने आश्वासन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको उपसमितिले सोमबार सो आयोजनाको खोकना–बुङमती क्षेत्रको स्थलगत अनुगमन गरेपछि त्यहाँ देखिएको जग्गाको मुआब्जासम्बन्धि विवाद छिट्टै समाधान गरिदिने आश्वासन दिएको हो । समितिका सदस्य गणेशकुमार पहाडीले स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय र समस्या समाधानका लागि सरकारले गठन गरेको समितिसँग पनि छलफल गरी सो क्षेत्रको जग्गाको मुआब्जासम्बन्धि विवाद समाधान गर्ने योजना सुनाउनु भयो । उहाँले सो आयोजनाको काम समयमै सक्ने गरी विद्यमान विवाद समाधान गर्न समितिले उपसमिति समेत गठन गरेको पनि स्मरण गराउनु भयो । समितिकी अर्का सदस्य इन्दुकुमारी शर्माले पनि सम्बन्धित पक्षसँग छलफल गरी सो आयोजना निर्माणमा देखिएको जग्गाको मुआब्जा वितरणको समस्या समाधान गर्न समक्ष हुने विश्वास व्यक्त गर्नु भयो । स्थलगत अनुगमनका क्रममा आयोजनाका प्रमुख नेपाली सेनाका प्राविधिक सहायक रथी विकास पोखरेलले आयोजनाको प्रवेश मार्गको कामलाई अघि बढाउन खोकना र बुङमतीमा जग्गाको मुआब्जा सम्बन्धि विवाद देखिएको उल्लेख गर्दै ती समस्या समाधानका लागि पहल गरिदिन समितिका सदस्यहरुलाई आग्रह गर्नु भएको थियो । उहाँले सो क्षेत्रको १६५ रोपनी जग्गाको मुआब्जा कम भयो भनेर स्थानीयले भनेपछि आयोजनाको शुन्यदेखि साँढे ३ किलोमिटर क्षेत्रको कामलाई अघि बढाउन नसकिएको पनि स्पष्ट पार्नु भयो ।
