काठमाडौं, भाद्र १० । लेग स्पिनर सन्दीप लामिछानेले नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् । सन्दीपले पुरानै क्लब होबार्ट हुरिकेन्सबाटै लिग खेल्ने भएका हुन् । अष्ट्रेलियन फ्रेन्चाईज टिम होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरेको बताएको छ ।
होबार्टले पहिलो अन्तराष्ट्रिय खेलाडीको रुपमा सन्दीपलाई टिममा अनुबन्ध गरेको हो । सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट दिलाएका थिए । त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए । सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

