मुलुककै जेठो त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा पुगेको छ । २०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवनहरु भत्किएर सकिने अवस्थामा पुगेका छन् ।
भवनहरु जिर्णोद्धार हुन नसक्दा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य छन् । त्रिचन्द्र क्याम्पस भूगर्व शिक्षण विभागका प्रमुख अनन्तप्रसाद गजुरेलका अनुसार कलेजका भवनहरुमा पानी चुहिने, गाह्रो भत्किएको र केही कक्षाहरु पूर्ण रुपमा क्षतिग्रस्त भएर ढलेको छ ।
उहाँले कलेजका भवनहरुमा २० सेन्टीमिटरसम्मको धाँजा परेको र त्यहाँ जान पनि डरलाग्ने ठाउँमा अहिलेसम्म भवनको जिर्णोद्धार नगरिदिँदा बाध्य भएर कलेजको पठनपाठन सञ्चालन गरिरहनुपरेको बताउनुभयो ।

