साफ च्याम्पियनशीप: नेपालद्वारा श्रीलंका पराजित


साफ च्याम्पियनशीप २०२१ को दोस्रो खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । गएराती माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३-२ गोलले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

खेलको पहिलो हाफको ३०औं मिनेटमा नेपालले सुमन लामाको गोलले अग्रता लिएको थियो । दोस्रो हाफको ५२औं मिनेटमा अन्जन बिष्टले अर्को गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाएका थिए । तर खेलको ५६औं मिनेटमा श्रीलंकाले गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेको थियो ।

खेलको ८६औं मिनेटमा आयुश घलानले तेस्रो गोल गर्दै नेपाललाई जीत नजिक पुर्‍याएका थिए । ९० मिनेटपछिको अतिरिक्त समयमा श्रीलंकाले पाएको पेनाल्टी किकलाई गोल गर्दै पुनः खेलमा फर्कने प्रयास गरेपनि नेपालको जीतलाई रोक्न भने सकेन ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरिले माल्दिभ्स विरुद्ध पहिलो जीत निकालेको टोलीमा दुई खेलाडी परिवर्तन गरेका थिए । दिनेश राजवंशी र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई टोलीमा समेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *