चाडपर्वको बेला हुने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चाडपर्वको बेला अन्य समयभन्दा बढी भीडभाड हुने गरेकाले विभिन्न अपराधिक क्रियाकलाप हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
सम्भावित अपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले हरेक वर्ष चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्दै आएको छ । सुरक्षा योजना बलियो बनाउन प्रदेशभर ३ हजार ८ सय ४७ जना प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विक्रमकुमार चन्दले बताउनुभयो ।
उहाँले सीमा नाकामा पनि भारतबाट आउने नेपालीहरुले सहज रुपमा स्वदेश आउन व्यवस्था गरिएको बताउँदै चोरी, तस्करी नियन्त्रणका लागि प्रदेशका सीमा नजिकका ३९ ठाउँमा प्रहरी खटाइएकोे जानकारी दिनुभयो ।
प्रहरी वरिष्ठ उपरीक्षक चन्दले प्रदेश राजधानी कैलालीलाई दुई भागमा विभाजन गरेर एकीकृत सुरक्षा योजना लागू गरिएको पनि बताउनुभयो ।

