अर्थतन्त्र संकटमा पर्नुको कारण ओली नेतृत्वको सरकार : झलनाथ खनाल


नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको अर्थतन्त्र संकटमा पर्नुको कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भएको आरोप लगाएका छन्।

समाजवादीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अर्थतन्त्र संकटमा जानुको कारण ४२ महिने बेथितिको सरकार हो। त्यही कारणले देश संकटमा जाँदै छ। बुद्धि नपुर्‍याए हामी पनि खाडलमा पर्नसक्छौँ। ४२ महिने सरकारले ल्याएको बजेटमा पनि त्रुटि छ। त्यसैले अहिले हामी होसियार भएर चल्नुपर्छ।’

केपी ओली दक्षिणपन्थी भएकाले पार्टी एकता जोगाउन नसकेको बताए। ओलीले माओवादी केन्द्रसँग गरेको एकता पनि नीतिहीन भएका कारणले असफल भएको टिप्पणी गरे।

नेता खनालले भने, ‘ओलीलाई प्रधानमन्त्री बनाउँदासम्म नेपाली जनताको इच्छा चुलिएको थियो। हामीलाई आशा लागेको थियो। म भने ओलीसँग विश्वस्त थिइनँ। ओलीले धोका दिन सक्छन् भन्ने मेरो मनमा थियो। पार्टी कमिटीको निर्णय पालना गरे भनेपछि देश बन्छ भनेको थियौँ तर उनलाई सत्ताको मात लाग्यो।’

ओलीबाट पार नलाग्ने भएपछि अन्तिममा विद्रोह गर्ने ठाउँसम्म पुगेको बताए।

‘विद्रोह आवश्यक र अनिवार्य थियो। विद्रोह नगरेका भए हामी केही महिनामै सकिन्थ्यौँ। अहिले हामी सात महिना पुग्न लागिसकेका छौँ। यो अवधिमा राष्ट्रव्यापी पार्टी बनाइसकेका छौँ’‚ उनले भने, ‘पार्टी विस्तारको क्रम बढ्दो छ। एक वर्षभित्र नीति र सिद्धान्तअनुसार चल्ने देशको ठूलो पार्टी बन्न सक्छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *