नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ।
गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर समान २७ रुपैयाँ मूल्यवृद्धि गरेको हो। एकैपटक यति धेरै मूल्यवृद्धि गरिएको यो पहिलोपटक हो। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।
अब पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १ सय ९२ पुगेको निगमले जनाएको छ। ग्यास सिलिण्डर भने निगमले १८ सय रुपैयाँमा बिक्री गरिरहेको छ। निगमले जेठ २६ गते पेट्रोलमा प्रतिलिटर ८, डिजेल र मट्टितेलमा १२ रुपैयाँ मूल्य बढाएको थियो।
१० दिनमै फेरि मूल्य बढाएको निगमले अझै घाटा व्यहोरिरहेको जनाएको छ। निगमका अनुसार १ सय ९९ रुपैयाँमा बेच्दा पनि पेट्रोलमा अझै १३ रुपैयाँ ५८ पैसा घाटा रहेको छ।
डिजेलमा १३ रुपैयाँ ९५ पैसा र ग्यासमा प्रतिसिलिण्डर ७ सय ५१ रुपैयाँ १४ पैसा घाटा रहेको निगमको दाबी छ। मट्टितेलमा भने लिटरमा ४३ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ। हालको मूल्य समायोजनपछि पनि निगमलाई अझै मासिक करिब ४ अर्ब ७० करोड रुपैयाँ घाटा रहेको र असार मसान्तसम्म करिब ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सानी हुने स्थिति देखिएको दाबी निगमले गरेको छ।
यस्तै, यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा चर्काे वृद्धि गरेसँगै विभागले भाडा बढाएको हो । इन्धनको बजार मूल्य पाँच प्रतिशत वा पाँच प्रतिशतभन्दा बढीले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा पनि घटबढ हुँदै आएको छ ।
विभागले आजैदेखि लागू हुने गरी यात्रुवाहक गाडीमा पाँच दशमलव ३० प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा ६ दशमलव ९४ र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा सात दशमलव सात प्रतिशतले भाडा बढाएको छ । नयाँ भाडादर एक प्रदेशबाट अर्को प्रदेशमा वा राष्ट्रिय राजमार्गमा चल्ने गाडीमा लागू हुने विभागले जनाएको छ ।
बढाएको भाडाअनुसार सबैभन्दा धेरै काठमाण्डौबाट धनगढी, सितामढी हुँदै अछामको साँफेबगर जाने यात्रुले दुई हजार आठ सय ८९ रुपैयाँ गाडी भाडा तिर्नुपर्नेछ ।
